Shittalpati
वैदिक परम्परा र चैते दशैँको महत्व

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो, जहाँ वैदिक परम्पराले समाजको जीवनशैली, संस्कार र आस्थामा गहिरो प्रभाव पारेको छ । यिनै परम्पराको निरन्तरता स्वरूप मनाइने पर्वहरूमध्ये चैते दशैँ विशेष महत्व राख्ने चाड हो । वर्षको दुई पटक मनाइने दशैँमध्ये असोजमा आउने बडादशैँ जति व्यापक नभए पनि चैते दशैँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व उत्तिकै गहिरो छ । वैदिक परम्परामा शक्ति उपासना, प्रकृतिप्रति सम्मान र धर्म–अधर्मको द्वन्द्वमा धर्मको विजयलाई विशेष महत्व दिइन्छ । यही सन्दर्भमा देवी दुर्गाको आराधना गर्दै मनाइने दशैँ, असल शक्तिको विजयको प्रतिकका रूपमा स्थापित छ । चैते दशैँ पनि यही परम्पराको निरन्तरता हो, जहाँ देवीको पूजा गरी नकारात्मक शक्तिमाथि सकारात्मक शक्तिको विजयको कामना गरिन्छ । चैते दशैँ विशेषगरी शक्ति पीठहरूमा मनाइने गरिन्छ । यस समयमा भक्तजनहरू देवी मन्दिरहरूमा गई पूजा–अर्चना गर्ने, बलि दिने तथा व्रत बस्ने परम्परा रहिआएको छ । यो पर्वले मानिसहरूलाई आन्तरिक शुद्धता, आत्मबल र अनुशासनको सन्देश दिन्छ । वैदिक दर्शनअनुसार, बाह्य पूजा मात्र होइन, मन, वचन र कर्मको शुद्धता नै साँचो धार्मिकता हो भन्ने कुरा चैते दशैँले स्मरण गराउँछ ।

सामाजिक दृष्टिकोणबाट हेर्दा, चैते दशैँले समुदायबीच एकता, सद्भाव र सहयोगको भावना विकास गर्न मद्दत पु¥याउँछ । गाउँ–शहरमा रहेका मन्दिरहरूमा सामूहिक रूपमा पूजा गर्दा सामाजिक सम्बन्ध अझ बलियो बन्छ । यस्ता पर्वहरूले पुस्तान्तरणको माध्यमबाट संस्कार र परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसर पनि प्रदान गर्छन् । आजको आधुनिक युगमा, परम्परागत चाडपर्वहरूलाई केवल औपचारिकता वा अन्धविश्वासका रूपमा मात्र हेर्ने प्रवृत्ति पनि बढ्दो छ । तर, वैदिक परम्परा र चाडपर्वहरूमा निहित सांस्कृतिक, नैतिक र सामाजिक सन्देशलाई बुझ्न आवश्यक छ । चैते दशैँ केवल धार्मिक कर्मकाण्ड होइन, आत्मचिन्तन, अनुशासन र सकारात्मक ऊर्जाको अभ्यास गर्ने अवसर पनि हो । यसैले, चैते दशैँलाई समयसापेक्ष ढंगले मनाउँदै यसको मौलिकता जोगाउनु हाम्रो दायित्व हो । वैदिक परम्पराको संरक्षण गर्दै आधुनिक चेतनासँग जोड्न सके मात्र यस्ता चाडपर्वहरूले समाजलाई सही दिशा दिन सक्ने छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update