नीम आयुर्वेदमा प्रयोग हुने महत्वपूर्ण औषधीय वनस्पति हो, जसले स्वास्थ्यका लागि विभिन्न प्रकारका लाभ प्रदान गर्दछ । नीम मानव शरीर, छाला तथा कपालका लागि अत्यन्त उपयोगी मानिन्छ । यद्यपि यसको स्वाद तितो हुने भएकाले धेरै मानिसले यसको प्रत्यक्ष सेवन गर्न रुचाउँदैनन् । तर नीमको रस सेवन गर्न अपेक्षाकृत सजिलो हुने भएकाले त्यसमार्फत यसमा पाइने औषधीय गुणहरूको लाभ लिन सकिन्छ ।
नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्बका रूपमा बुझाउँछ । आज त्यही नीमको पात खाने दिन पनि हो । आयुर्वेदमा नीमलाई विभिन्न रोगनाशक अत्यन्त गुणकारी औषधि मानिएको छ । नीमलाई ‘औषधि बनाउने रुख’को संज्ञासमेत दिइन्छ । यो एन्टिसेप्टिक, एन्टिबायोटिक, पीडानाशक, कृमिनाशक, जीवाणुरोधी, फंगलविरोधी, चर्मरोगनाशक हुन्छ । यसका विभिन्न भागमा १ सय ४० भन्दा बढी यौगिक पाइन्छ । यसको पात, फूल, बीउ, जरा औषधीय गुणले भरपूर हुन्छन् । नीमले रोगप्रतिरोधी शक्ति बढाई सुन्नाइ कम गरेर, मुक्त कणलाई हटाएर, हार्मोनले गतिविधिलाई रोकेर र कोषिका विभाजनमा बाधा उत्पन्न गरेर क्यान्सरको उपचारमा सघाउछ । यस्तै एउटा अर्को यसमा औलोविरुद्घको गुण हुन्छ । यसको पातले औलोविरुद्घ लड्न सघाउँछ । अनुहारमा बारम्बार डन्डीफोर वा ब्ल्याकहेड हुँदा नीमको पातको प्रयोग गरे आराम मिल्छ । निमको पानीले अनुहार धुँदा यो समस्या कम हुन्छ । नीमले पसिनाको दुर्गन्ध समेत हटाउछ । शरीरको ओसिलो भागमा ब्याक्टेरिया उत्पन्न हुनाले दुर्गन्ध हुन्छ । यस्तोमा नीमको पानीले शरीर पखाल्ने वा पुछपाछ गर्ने गरे यस्तो समस्या हट्छ । यसका थुप्रै फाइदाहरु छन् । नीमलाई सहि रुपमा पहिचान गरी उपयोग गर्न सके स्वास्थ्यलाई धेरै हद स्वस्थ राख्न सकिन्छ ।

