नेपाली समाजमा अझै पनि विभिन्न किसिमका भेदभाव कायमै रहेको छ । यो नाम वा त्यो नाममा भेदभाव हुने गरेको छ । यो अत्यन्त दुखको कुरा हो । नेपाली समाजमा कतै जातिय भेदभाव, कतै लैङ्गिक भेदभाव हुने गरेका घटनाहरु थुपै्र हुने गरेका छन् । जातीय आधारमा अहिले पनि छुवाछूतजन्य संस्कार समाजमा स्थापितरुपमै विद्यमान छ । बारम्बार प्रकट हुने घटना र त्यसबाट भड्किँदो हिंसारुपी ज्वालाले अझै पनि समाजलाई विभाजित बनाइरहेकै छ । कतै तल्लो जातको भन्दै दिसा खुवाइएका घटनाहरु छन् त कतै सानो जात भनेर बोक्सीको आरोप लगाउँदै चरम यातनासमेत दिइरहेको पाइन्छ । कतै मन्दिर प्रवेश गरेको भन्दै मारिएका घटनाहरु अघि आउँछन् त कतै माथिल्लो जातसँग प्रेम गरेकै आधारमा ज्यानै जाने गरी सजाय दिइएका घटनाहरु खोज्ने हो भने प्रसस्त भेटिन्छन् ।
भेदभाव प्रायः गलत सूचना वा अज्ञानताको डरमा आधारित हुने गर्दछन् । कसैले कसैलाई भेदभाव गर्नु भनेको मानव अधिकार हनन् गर्नु नै हो । मानिसले मासिनसलाई नै विभिन्न किसिमका भेदभाव गर्ने गरेको पाइन्छ । कुनै पनि विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । यस्ता प्रथाको समूल अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धि गर्न आवश्यक छ । भेदभावलाई शुन्य बनाउन हरेक वर्षको मार्च १ गते विश्वभरी नै संयुक्त राष्ट्र संघले शून्य भेदभाव दिवस मनाउने गर्दछ । आज पनि यो दिवस विश्वभर मनाइँदै छ । तर यो दिवसले सार्थक रुप भने पाउन सकेको छैन । मानिस भएर जन्मिएपछि जातीय विभेद र छुवाछूतको बन्धनमा बाँधिदै अपमानितसँगै अवहेलित हुने सन्दर्भहरु अहिले पनि ठाउँ–ठाउँमा घटित भैरहनुले अन्धविश्वासलाई नै बढवा दिइरहेको छ । छुवाछुत भेदभाव गर्नु भनेको मानव अधिकार हनन् गर्नु नै हो । यसर्थ विभेदको जरैदेखि अन्त्य गर्न जरुरी छ । यसतर्फ सरकार र सरोकारवालाहरु गम्भीर बन्नुपर्छ ।

