Shittalpati
निर्वाचन सबै मिलेर सफल पारौं

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै छ । निर्वाचन नजिकिँदै जाँदा देशभर राजनीतिक गर्मी बढेको छ । सोमबारदेखि भने थप निर्वाचनको चहपहल बढेको छ । निर्वाचन आयोगले चुनावी प्रचार प्रसारका लागि अनुमति दिएपछि चुनावको रौनक बढेको पाइन्छ । फागुन  ४ गतेदेखि १८ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाइने भए पछि राजनीतिक दल र उम्मेदवारहरुले प्रचार प्रसारलाई व्यापक बनाएका छन् ।  निर्वाचन आयोगले फागुन ३ गते राति १२ बजेदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचारप्रसारको समयसीमा कायम राखेको छ । अब उम्मेदवार तथा दलहरूले औपचारिक रूपमा जुलुस, आमसभा, कोणसभा तथा घरदैलो गर्न पाउने छन् । तर आचारसंहिताको भने पूर्ण पालना गर्ननै पर्ने हुन्छ । आयोगले पनि यो समयमा आचरसंहिता बढी उल्लङ्घन हुन सक्ने भएकाले  उम्मेदवार र राजनीतिक दलहरुलाई सचेत गराएको छ ।

कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पुर्‍याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पु¥याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भड्काउने वा प्रतिज्ञा गराउने जस्ता कामहरु यो बेला ह्ुन सक्छन् । यसतर्फ आम नागरिक सबै सचेत हुन आवश्यक छ । यो निर्वाचन सामान्य परिस्थितिमा भएको होइन । भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई एकाएक नयाँ निर्वाचनतर्फ धकेलेको हो । सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणालीको मागसहित उठेको जेनजी आन्दोलनले सत्ता र व्यवस्थाप्रति गम्भीर प्रश्न उठायो । त्यसकै परिणामस्वरूप अहिलेको संक्रमणकालीन अवस्था जन्मिएको हो । यही पृष्ठभूमिमा हुन गइरहेको निर्वाचन केवल सत्ता हस्तान्तरणको प्रक्रिया मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई पुनः स्थायित्व दिने एउटा निर्णायक अवसर पनि हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु सरकार, राजनीतिक दल, राज्य संयन्त्र, सुरक्षा निकाय र नागरिक सबैको साझा दायित्व हो । नागरिकको सक्रिय सहभागिता, सचेत मतदान र लोकतान्त्रिक आचरणले मात्रै निर्वाचनको सार्थकता पुष्टि हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने हो भने अहिलेको निर्वाचनलाई शान्त, निष्पक्ष र विश्वसनीय बनाउनुको विकल्प छैन । त्यसका लागि सबैजना आ–आफ्नो ठाउँबाट जिम्मेवारीका साथ लागौँ ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update