पाल्पा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘Þयुमन पापिलोमा भाइरस’ (एचपीभी) खोप देशभरि नै लगाउने भएको छ । कक्षा ६ मा पढ्ने र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन लागिएको हो । सरकारले गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालयबाहिरका किशोरीलाई पनि सोही अभियानअन्तर्गत खोप लगाइदिने छ । देशभरबाट करिब तीन लाख ५० हजार बालबालिकालाई यो खोप दिइने छ ।
पाल्पामा पनि दुई हजार बढी किशोरीलाई खोप लगाउन लागिएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका एक सय ९६ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका दुई हजार ४३ जना किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय पाल्पाले तानसेनमा जिल्ला खोप समन्वय समितिको बैठक तथा पत्रकारहरुसँगको छलफल कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ । यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले बताए । उनका अनुसार जिल्लामा कक्षा ६ मा अध्ययनरत एक हजार ९ सय ९५ जना, कक्षा ७ देखि १० सम्मका छुट ३५ जना, विद्यालय बाहिरका १० वर्ष उमेरका १२ जना र विद्यालय बाहिरका ११ वर्षदेखि १४ वर्ष उमेरका छुट एक जना किशोरी गरी दुई हजार ४३ जना किशोरीलाई खोप दिइने छ ।
जिल्लामा सबैभन्दा धेरै तानसेन नगरपालिकामा ४ सय ८५ जनाले खोप लगाउँदै छन् । यहाँ माघ २५ देखि फागुन २ गतेसम्म खोप लगाईने छ । त्यस्तै १० पालिका मध्ये सबैभन्दा कम बगनासकाली गाउँपालिकामा ९० जनालाई खोप लगाइँदै छ । यहाँँ माघ २५ देखि २७ गतेसम्म खोप दिइने प्रमुख पाखेरलले बताए । यस्तै रामपुर नगरपालिकामा ४ सय ८ जना किशोरीलाई खोप दिइने छ । यहाँ माघ २५देखि फागुन १ गतेसम्म अभियान सञ्चालन हुने छ । पूर्वखोला गाउँपालिकामा १ सय १० जनालाई खोप लगाइने छ । यहाँ माघ २५देखि २६ गतेसम्म लगाइने छ । यस्तै रम्भा गाउँपालिकामा १ सय २५ जना किशोरीलाई खोप लगाइने छ । जहाँ माघ २५देखि २८ गतेसम्म दिइने छ । रिब्दीकोट गाउँपालिकामा १ सय ११ रैनादेवी छहरा गाउँपालिकामा २ सय ९ जना, तिनाउ गाउँपालिकामा १ सय ६९ जना, माथागढी गाउँपालिकामा १ सय ९१ जना र निस्दी गाउँपालिकामा १ सय ४५ जनालाई खोप दिइने छ । यी पालिकाहरुमा माघ २५ देखि २७ गतेसम्म खोप लगाईने छ । खोप कार्यक्रमका लागि आवश्यक तयारी सकिएको स्वास्थ्य कार्यालयका प्रमुख पोखरेलले बताए । उनले भने “ खोपका लागि हामीले ४ सय ५४ जना स्वास्थ्यकर्मी र २ सय २७ जना स्वयमसेवक परिचालित गर्दै छौं । अहिले हालसम्म वडा र पालिका खोप समन्वय समितिसँगको बैंठक सकिएको र सबै जना आइतबारदेखि सुरु हुने अभियानका लागि तयारी हुनुन्छ ।” खोप प्रभावकारी भएकाले सबै किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिए । पछिल्लो समय नेपालमा महिलाको पाठेघरको मुखको क्यान्सर प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेकाले रोग नियन्त्रणका लागि अभियान फलदायी हुने अपेक्षा लिइएको न्यौपानेले बताए ।
चाईनामा बनेको सिकोलिन ब्राण्डको एचपिभी खोप महिलाको बायाँ पाखुराको मांसपेशीमा सुईमार्फत दिइने उनले जानकारी दिए । न्यौपानेले क्यान्सर भएका, एलर्जी हुने, अपरेसन गरेका, सिकिस्त बीरामी बाहेक अन्य व्यक्तिले खोप लगाउन मिल्ने बताए । कार्यक्रममा खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले महिलाहरूमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रूपमा रहेका बालिकाहरूलाई पूर्णरूपमा बचाउनको लागि सबैको महत्वपूर्ण भूमिका रहने भएकाले अभियानको प्रचार–प्रसार गरिदिन जिल्लाका पत्रकारहरुलाई आग्रह गरे ।
के हो एच.भि.पि. खोप ?
यो एक प्रकारको भाईरस हो । यसलाई युमन प्यापिलोमा भाईरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाईरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ भने यसमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन भन्ने कुरा विभिन्न अध्ययनहरूले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाईन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाईरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ ।
एच.पि.भी.खोपको महत्वः
खोप निशुल्क पाईन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्दछ । खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो । अहिले एच.पि.भी. खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समाबेश गरी किशोरीहरूलाई दिदैं आईरहेको छ । त्यसैले यसको प्रभावकारीता शत प्रतिसतसम्म रहेको बिभिन्न अध्ययनले देखाएको छ । यो खोप एक मात्रा लगाए पुग्दछ । किशोरीहरू महिनावारी भएको बेला पनि यो खोप लगाउन मिल्दछ । यसले नियमित हुने महिनावारीलाई कुनै असर गर्दैन ।


