Shittalpati
विश्व अर्थतन्त्रमा : सुन, डलर र पेट्रोलियम पदार्थको मूल्य प्रभाव

खुला अर्थतन्त्रका कारण विश्व एक परिवार जस्तै बन्न पुगेको छ । विश्वको एउटा देशमा पर्ने आर्थिक समस्याले बाँकी विश्वलाई प्रभाव पार्ने अवस्था विकास हुँदै गएको छ । अर्थतन्त्रका हरेक सुचकहरुमा बदलीले विश्व अर्थतन्त्रलाई प्रभाव पार्ने गर्दछ । विशेष गरेर विश्व अर्थतन्त्रमा दबदवा बनाई रहेका ठूला अर्थतन्त्र भएका केहि देशहरुको यसमा भूमिका विशेष रहेको अनुमान लगाउन सकिन्छ । विश्व व्यापारमा अमेरिकन डलर ,सुन तथा पेट्रोलियम पदार्थको मूल्यमा हुने उतार चडावले विश्व अर्थतन्त्रलाई सकरात्मक र नकरात्मक दुवै किसिमको प्रभाव पारिरहेको देखिन्छ । पछिल्लो समय सुनको मूल्यमा भएको उत्तार चडावले विश्व अर्थतन्त्रमा यस्तो प्रभाव पारी रहेको देखिन्छ । सुन एक विलाशी वस्तु भएता पनि आज भोली यो लगानीकर्ताको सुरक्षित लगानीको क्षेत्र बन्न पुगेको कारण यसले कुनै पनि देशको अर्थतन्त्रलाई प्रभावपारी रहेको देखिन्छ । अमेरिकन केन्द्रीय बैंकको व्याजदर निर्धारणले अमेरिकन डलरको मूल्यलाई ,डलरको मूल्यले सुन तथा पेट्रोलिय पदार्थको मूल्य निर्धारणमा प्रभाव पार्ने गर्दछ भने यी सबै कारणले  विश्व अर्थतन्त्रका हरेक पक्षलाई ।

दैनिक हिसाब किताबमा चल्ने अमेरिकन तथा युरोपियन देशका नागरिकको सम्पत्ती सञ्चय गर्ने प्रवृत्तिले डलर सुन तथा पेट्रोलिय पदार्थको मूल्यमा घटबढ भइ रहेको देखिन्छ । अर्कोतर्फ विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको आर्थिक जगतमा हुने जुङगाको लडाईले पनि यसलाई प्रभाव पार्ने गरेको छ । विश्व बजारमा निरन्तर बढ्दै गएको सुनको मूल्य, अमेरिकन डलर र पेट्रोलियम पदार्थले सुनको मूल्यमा पार्ने प्रभाव, विश्व अर्थतन्त्रमा डलर, सुन र पेट्रोलियम पदार्थको मूल्य परिवर्तनले पार्ने प्रभाव र यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

विषय प्रवेश :
विश्व अर्थतन्त्रमा अमेरीकी दबदवा कायमै छ । चाहे आर्थिक रुपमा होस् ,चाहे त्यो सैनिक शक्तिका हिसावले होस् वा राजनीतिक हिसावमा नै किन नहोस्  । आफुलाई शक्तिशाली कायम गर्न कहिले आर्थिक समस्या आफै सिर्जना गरेर त कहिले समाधानका कुरा गरेर आफुलाई अब्बल सावित गर्न तम्सिरहेकै  देखिन्छ । अर्को तर्फ विश्व व्यापार सञ्चालनमा अमेरिकन डलरको उपस्थिति अनिवार्य नै देखिन्छ । अमेरीका लगाएत ठूला अर्थतन्त्र भएका केहि देशले चाल्ने कदम र क्रियाकलापले विश्व अर्थतन्त्रलाई प्रभाव पार्ने गर्दछ भने यसैको कारण बन्न पुगेको छ वर्तमान समयमा सुनको मूल्यमा भएको निरन्तर वृद्धि ।

सुनको मूल्यमा किन उतार चढाब भइरहेको छ ?
सुन एक बहुमूल्य प्राकृतिक धातु हो । यसलाई गहनाको प्रयोगकोदेखि लगानी, मुद्रासञ्चिति र औद्यौगिक वस्तुको रुपमा प्रयोग गरिन्छ । आम मानसमा बढी विश्वासिलो मानिने यो धातु सम्पत्ति सञ्चय देखि लिएर प्रतिष्ठाको बस्तुको रुपमा पनि लिने गरिन्छ । नेपाल जस्ता विकासोन्मुख देशहरुमा यसलाई लगानी भन्दा बढी  गहनाको रुपमा प्रयोग गरेको पाईन्छ भने विकसित र गतिशिल अर्थतन्त्र भएका देशहरुका नागरिकहरु यसलाई सम्पति सञ्चय र  लगानीको रुपमा लिने गरेको पाईन्छ  । सुनको मूल्यलाई प्रभाव पार्ने मुख्य कारणमा यसको माग र पूर्तिको अवस्था, उत्पादन लागत बढी, उत्पादनमा दुर्लभता आदि मुख्य रुपमा रहेका छन् ।

यस बाहेक सुनको मुल्यमा घटबढ् बनाउने पक्षहरुमा :
–अमेरिकन केन्द्रीय बैंकले व्याजदरमा ल्याउने परिवर्तन ।
–अमेरीकन डलरको मूल्यमा आउने परिवर्तन ।
–राजनीतिक अस्थिरता ,युद्ध र युद्धको खतरा ।
–शेयर बजारमा हुने उतार चढाब ।
–सुनको उत्पादन लागत ।
–सुनको माग र पूर्ति बिचको अन्तर ।
–सुरक्षित लगानीको रुपमा हेरिनु ।
–देशका केन्द्रीय बैंकको सुन सञ्चय गर्ने नीति ।
–मुद्रास्फिती र मुद्रासंकुचन ।
–बजारको विस्तार ।
–धर्म संस्कृति, रितीरिवाज ।

सुन, डलर र पेट्रोलियम पदार्थविचको मूल्य सम्बन्ध :
क) सुन र अमेरीकन डलरबिचको सम्बन्ध :
विश्व अर्थतन्त्रमा अग्रणी देश अमेरीका र यसको मुद्रा अमेरीकन डलरको मूल्यमा आएको परिवर्तनले विश्व अर्थतन्त्रमा प्रभाव पार्ने गर्दछ । सुन र डलरलाई लगानी र सम्पत्ती सञ्चयको रुपमा लिने विकसित देशका नागरिकका कारण  भएको देखिन्छ । डलर र सुनबिचको सम्बन्ध विपरीत देखिन्छ । डलर बलियो हुँदा सुन कमजोर हुन्छ भने डलर कमजोर हुँदा सुन बलियो हुने गर्दछ । सामान्यतया डलरले सुनको मूल्य निर्धारणमा भूमिका खेल्ने गर्दछ । डलरको मूल्य निर्धारण भने अमेरीकी केन्द्रीय बैंकले तय गर्ने व्याज दरले गर्दछ । व्याजदर बढी हुँदा डलर बलियो हुन्छ भने व्याज दर कम हुँदा डलर कमजोर हुने गर्दछ ।

ख) अमेरिकन डलर र पेट्रोलिय पदार्थबिचको सम्बन्ध :
विश्व व्यापारमा अग्रणी स्थान लिने पेट्रोलियम पदार्थको कारोवार अमेरीकी डलरमा हुने गर्दछ । अमेरीकी डलर र पेट्रोलियम पदार्थबिच सकरात्मक सम्बन्ध हुने गर्दछ । डलर बलियो भएमा तेल महँगो हुने गर्दछ भने डलर कमजोर हुँदा तेल सस्तो हुने गर्दछ । डलर बलियो वा कमजोर हुँदा तेलको माग र पूर्तिमा प्रभाव पार्ने गर्दछ भने यसले पेट्रोलियम पदार्थको मूल्यलाई प्रभाव पार्ने गर्दछ भने यसको मूल्य परिवर्तनले विश्व अर्थतन्त्रलाई ।

ग) सुन र पेट्रोलियम पदार्थबिचको सम्बन्ध :
 विश्व अर्थतन्त्रमा लगानीलाई प्राथमिकता दिने लगानी कर्तालाई सुन वा पेट्रोलियम पदार्थको मूल्य परिवर्तनले पनि विशेष महत्व राख्ने गर्दछ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा मुद्रास्फितीको अवस्था सिर्जना हुने र यस अवस्थामा लगानीकर्ताहरु सुन खरीद गर्ने गर्दछन् र यसले सुनको मूल्य वृद्धिमा सहयोग पु¥याउने गर्दछ । यो अवस्था भने सधै एकै नाश भने हँुदैन् ।

अर्थतन्त्रमा सुन, डलर र पेट्रोलिय पदार्थको मूल्य प्रभाव :
विश्व अर्थतन्त्रमा सबै भन्दा बढी प्रभाव पार्ने तत्वहरुमा अमेरिकन डलर, सुन र पेट्रोलियम पदार्थबिचको सम्बन्धले महत्व राख्ने गर्दछ । यीनीहरुको उत्पादन मात्रा, उत्पादन लागत, व्याज दर तथा माग र पूर्तिले विश्व बजारलाई प्रभाव पारेको देखिन्छ । डलर कमजोर हुँदा सुन र पेट्रोलिय पदार्थ बलियो हुन्छ भने डलर बलियो हुँदा सुन तथा पेट्रोलिय पदार्थ भने कमजोर हुने गर्दछ । डलरलाई भने व्याज दर निर्धारणले प्रभाव पार्ने गर्दछ । डलर बलियो हँुदा वा कमजोर हुँदा विश्वका अन्य देशको विनिमय दर निर्धारण तथा अन्तर्राष्ट्रिय व्यापारमा प्रभाव पार्ने गर्दछ । सुनको मूल्यको घटबढ्ले अन्तर्राष्ट्रिय लगानी कर्तालाई प्रभाव पार्ने गर्दछ । पेट्रोलिय पदार्थको मूल्य परिवर्तनले उत्पादन लागत र वस्तु तथा सेवाको मूल्य निर्धारणमा प्रभाव पार्ने गर्दछ । समग्रमा विश्व अर्थतन्त्रमा यी उल्लेखीत पक्षहरुले विशेष भूमिका खैल्ने गर्दछन् ।

निष्कर्ष :
 विकसित र परिवर्तनशील विश्व अर्थतन्त्रमा निरन्तर विभिन्न तत्वहरुले सकरात्मक तथा नकरात्मक प्रभाव पारी रहेकै हुन्छ । त्यसमा अग्रणी स्थानमा रहेको छ अमेरीकन डलर, सुन र पेट्रोलियम पदार्थ । कतै आर्थिक कारण तथा कतै राजनीतिक कारण त कतै आफुलाई शक्तिशाली बनाउने उद्देश्यले यसलाई प्रभाव पारी रहेको देखिन्छ । विश्व व्यापार सञ्चालनको आधारको रुपमा रहेको डलर बलियो र कमजोर हँुदा विशेषत यसले विश्व अर्थतन्त्रमा हलचल ल्याउने गर्दछ । भने निधक्क लगानी र सम्पत्ती संञ्चयको विकल्पको रुपमा रहेको सुनलाई लगानीकर्ताले लिदा यसको माग र आपूर्तिले यसको मूल्यलाई प्रभाव पारेको देखिन्छ । डलरलाई बलियो र आफ्नो अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले चालिने गैर आर्थिक कदम, धनी देशहरुको अस्तित्वको लडाईले बाँकी विश्वको अर्थतन्त्रलाई प्रभाव पार्ने र आर्थिक संकट उत्पन्न हुने, अर्थजगतमा दीर्घकालिन असर पार्ने भएकोले आफुलाई शक्तिशाली मानिने देशहरुले यसतर्फ भने ध्यान दिदै अर्थतन्त्रका विभिन्न सुचक तथा तत्वहरुलाई स्वचालित सञ्चालन हुने कदम भने चाल्नु पर्ने देखिन्छ । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।) 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update