पाल्पा, नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ । यसदिन सुनको मूल्य १४ हजार ४ सयले बढेको छ । नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार यसदिन १४ हजार ४ सयले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ७ सय कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोला २ लाख ९० हजार ३ सयमा कारोबार भएको थियो । मंगलबार ३ हजार ७ सयले बढेको थियो । यसदिन चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
महासंघका अनुसार २ सय ६५ रुपैयाँले बढेको हो । मूल्य बढेसँगै प्रतितोला चाँदी ५ हजार ६ सयमा खरिदबिक्री भइरहेको छ । मंगलबार सोही परिमाणको चाँदी ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते एक तोला सुनको मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५८ र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


