Shittalpati
 जलेश्वरधाम शिवपुराण महायज्ञ :  धार्मिक पर्यटनको कोशेढुंगा

 राम कार्की

जलेश्वरधाम शिवपुराण महायज्ञ २०८२ (माघ २२ —फागुन ३ गते) रिब्दीकोट गाउँपालिका वडा नं.५ जलेश्वरधाममा गर्ने तय गरेर मूल आयोजक समितिले स्थानीय सरकारको संरक्षकत्व र विश्व हिन्दु महासंघ पाल्पाको सहकार्यमा तयारीका विभिन्न चरण पूरा गरेको छ । अब त्यो विराट महायज्ञ अनुष्टान भव्यतापूर्वक सु–सम्पन्न गर्ने ऐतिहासिक क्षणको व्यग्र प्रतिक्षा आम जनसमुदायले गरिरहेका छन् । महिनौ अघिदेखि संरक्षक स्थानीय सरकार, सहकार्य गरिरहेको विश्व हिन्दु महासंघ पाल्पा लगायत सिंगो आयोजक टिम, स्थानीय जनसमुदाय, बौद्धिक व्यक्तित्व, विभिन्न संघसंस्थाहरु योजनावद्ध र एकतावद्ध ढंगबाट अहोरात्र खटिरहेकाले महायज्ञ भव्य र सभ्य रुपमा सम्पन्न हुने अवस्थामा पुगेको हो । तसर्थ यस महायज्ञमा जुटिरहेको सिंगो टिमलाई साधुवाद भन्दै नमन गर्दछु । यो महायज्ञले देवभूमि, पावनभूमि जलेश्वर क्षेत्रको महिमामा बढोत्तरी ल्याउँदै ओझेलमा परेको अमूल्य निधिका रुपमा रहेका धार्मिक ,सांस्कृतिक धरोहरको उजागर गर्नुका साथै धार्मिक सांस्कृतिक जागरणमा अभिवृद्धि गरी वैदिक सनातन हिन्दु धर्मको संरक्षण र सम्वद्र्धमा टेवा पु¥याउने विश्वास गरिएको छ । यसै सन्दर्भमा जलेश्वरधाममा १०८ गोमुखे धारा, १०८ शिवलिंग, गौशाला, आयुर्वेद शिक्षालय तथा गुरुकूल र सेनकालिन दरवारको स्वरुपमा धर्मशाला निर्माण गर्ने लक्ष्य समेत राखेर आयोजना गरिएको यो महायज्ञको सफलताका लागि शुभकामना व्यक्त गर्दै जलेश्वर मन्दिरमा शिव र बज्रयोगिनीको पूजा आराधना, करीव ५०० वर्ष पुरानो अखण्ड धुनीका सम्बन्धमा इतिहासकारका लेख, अग्रज व्यक्तित्वका धारणा, भनाई, जनश्रुति, जनविश्वासलाई सम्पादित गर्दै यो लेख तयार गर्ने जमर्को गरिएको छ ।

ऋषिमुनिहरुको तपोभूमि हाम्रो मातृभूमि
विश्वभरीका  मानिसहरुका लागि नेपाल आकर्षक पर्यटकीय गन्तव्य रहेको छ । विविध क्षेत्र, विषयमा अध्ययन, खोज, शोध गर्न, मनलाई शान्त राख्न, अलौकिक आनन्द लिन, साहसिक एवं रोमाञ्चक यात्रा गर्न वर्षेनी लाखौ पर्यटक नेपाल आवागमन गरिरहेका छन् । नेपाल र नेपालवासीका लागि यो सुखद् पक्ष हो । नेपालप्रति खासगरी विदेशी पर्यटकहरु किन आकर्षित छन्, मोहित भईरहेका छन् ? भन्ने प्रश्नको उत्तर  अत्यन्त सरल र सहज छ । किनकी नेपालको भूगोल प्राकृतिक सौन्दर्यले भरिपूर्ण, मनमोहक, अत्यन्त सुन्दर छ । यहांँको आद्यात्मिक आयाम अलौकिक छ र धार्मिक, साँस्कृतिक पहिचान विशिष्ट प्रकृतिको छ ।  हिमालय पर्वतदेखि पहाड र तराईसम्म फैलिएको यस भूमिमा लाखौं  देवस्थल, देवालयहरु एवं ऐतिहासिक धरोहरहरु धार्मिक एवं सांस्कृतिक पहिचानका जिउँदा साक्षीका रुपमा जीवन्त छन् । श्री स्कन्दपरुाणको हिमवत्खण्डमा नेपाललाई तपोभुमि भनिएको छ । साथै त्रेतायुगमा नेपालको नाम तपोवन रहेको उल्लेख छ । यसबाट पौराणिक कालखण्डमा नेपालको महिमा उत्कर्षमा रहेको अनुमान गर्न सकिन्छ । सत्य युग, त्रेता युग, द्धापर युगमा ठूला–ठूला ऋषिमुनिहरु यहाँ आएर तपस्या गरेको विश्वास गरिदै आइएको छ । विश्वामित्र, अगस्त्य, वाल्मीकि, याज्ञवल्क्य आदि ऋषिमुनिहरु यस तपोभूमिमा तपस्या गरेको, राम सीता, शिव पार्वती यही धर्तीमा विचरण गरेको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । यिनै तथ्य, प्रमाणका आधारमा परापूर्वकाल देखिनै नेपाल पुण्यभूमि, तपोभूमि, देवभूभिका रुपमा रहँदैआएको मान्यता छ ।

तपोभूमि जलेश्वरधामको धार्मिक एवं आध्यात्मिक महिमा
जलेश्वरधाम अर्थात् जलेश्वर मन्दिर प्राचिनकालदेखि नै शिव भगवान्प्रति समर्पित धार्मिकस्थल हो । यस मन्दिरमा परापूर्वकालदेखि शिव र बज्रयोगिनीको पूजाआजा, शिवलिङको अभिषेक, आराधना गरिदै आइएको छ । यहाँ हरेक वर्ष महाशिवरात्री पर्वका दिन विशेष मेला लाग्ने र ठूलो सख्यामा शिवभक्तहरुले मेला भर्ने गर्दछन् । त्यस दिन भक्तजनहरुले भगवान् शिवको दर्शन, भाङ धतुरो मिसाईएको प्रसाद शिवलाई चढाउने, पूजाआजा, भजनकीर्त गरी महाशिवरात्री पर्व मनाउने प्रचलन रहेको छ । यसप्रकार यस क्षेत्रका वासिन्दाहरुले जलेश्वरधामलाई ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्णस्थलका रुपमा लिदै आएको पाईन्छ । अग्रजहरुको भनाई अनुसार बालपुरी स्वामी भन्ने एकजना साधुले जलेश्वरधामको जेठो धुनी 
(अखण्ड धुनी ) निभ्न नदिई जल झिक्न शुरु गरेका थिए भन्ने छ । प्राचिन समयमा यहाँका साधुले विहान सधै रिडी गएर जल ल्याई अभिषेक गर्ने गरेकोमा साधु बालपुरी स्वामीले यहाँको जमिनमा त्रिशुल गाडेर जल निकाल्न सफल भएको र हाल पनि त्यहाँबाट जल प्रवाह भईरहेको छ । सोही स्थानबाट रिब्दीकोट गाउँपालिकाका विभिन्न स्थानमा खानेपानी आपर्ति पनि गरिदै आइएको छ । यहाँको अखण्ड धुनी ५२ धुनी मध्येको विशेष धुनी हो भन्ने अग्रजहरुको भनाई छ । यो अखण्ड धुनीे करीब ५०० वर्ष पुरानो रहेको हुन सक्ने अनुमान ईतिहासकार, अग्रजहरुले गर्ने गरेको पाईन्छ । यहाँको  मन्दिरको नगारा बजेपछि प्रसिद्ध भैरवस्थान मन्दिरमा पूजाको शुरुवात गर्ने प्रचलन रहेको भन्ने कुरा पनि हाम्रा अग्रजहरुबाट सुनिदै आइएको हो । भैरवस्थानको पूजाको शुरुवातका लागि जलेश्वरधामस्थित जलेश्वर मन्दिरको नगारा बज्नु पर्ने परम्परा, बज्रयोगिनी मूर्तिमा ११ औं शताब्दी भन्दा अघिदेखि नै पूजाआजा  हुँदैआएको तथा करीब ५०० वर्षदेखि निरन्तर अखण्ड धुनी बलिरहेको सन्दर्भलाई मनन् गर्दा जलेश्वरधामको महत्व र महिमा उच्च रहेको आंकलन गर्न सकिन्छ । जलेश्वरधामका नामबाट प्रख्यात यस पावनभूमि परापूर्वकाल देखि नै आस्था र विश्वासको धरोहर रहेको बलियो प्रमाण पाल्पा राज्यका संस्थापक सेन राजाहरुका पुर्खा तुथाराय सेन १५ औं शताब्दीमा भारत, चम्पारणबाट पाल्पाको रिसिङ हुँदै रिब्दीकोट, जलेश्वरमा आएर तपस्या गरेको भन्ने इतिहास पनि हो ।

श्री १००८ बरिष्ठ महामण्डलेश्वरको प्रमुख आतिथ्यता महायज्ञको गौरब
यो विराट रुपमा आयोजना गर्न लागिएको जलेश्वरधाम शिवपुराण महायज्ञमा प्रमुख अतिथिका रुपमा भारत सन्त समाजका बरिष्ठ महामण्डलेश्वर श्री १००८ बरिष्ठ महामण्डलेश्वर स्वामी दिव्यानन्द गिरीजी महाराज आप्mनो व्यस्त समयका बावजुद अत्यन्त महत्व दिएर सहभागी हुनु यस पावन भूमि र यहाँका वासिन्दाका लागि गौरवको क्षण हुनेछ । उहाँ महायज्ञमा सरिक हुने कार्यक्रम रहेको जानकारी पाउँदा सम्पूर्ण सनातन हिन्दु धर्मावलम्वीहरु हर्षित र उत्साहित भएका छन् । बरिष्ठ महामण्डलेश्वर स्वामीज्यूबाट भारत, हरिद्धार लगायत विभिन्न स्थानमा आश्रम सञ्चालन गरी वैदिक सनातन हिन्दु धर्मको संरक्षण महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । स्वामीज्यूबाट सञ्चालित आश्रममा गुरुकूल शिक्षा प्राप्त गरेका कैयौ विद्धानहरुले नेपालमा पनि ज्ञान छर्दै आउनुका साथै सनातन हिन्दु धर्मको संरक्षण र सम्वद्र्धमा भूमिका खेल्दै आउनुभएको छ ।

धार्मिक पर्यटनको सम्भावना
अन्त्यमा, तत्कालिन शक्तिशाली राज्य पाल्पाको स्थापना गर्ने सेन वंश राजाले आप्mनो शासन प्रारम्भ गर्दा राजधानी बनाएको रिब्दीकोटको बारेमा चाख राख्ने, अध्ययन, खोज, शोध गर्ने ईतिहासका विद्धान, विद्यार्थीहरुका लागि अन्वेषणको पाठशाला पनि हो रिब्दीकोट । तसर्थ रिब्दीकोटको गर्विलो इतिहासका साथै जलेश्वरधामको धार्मिक —सांस्कृतिक पहिचान, आध्यात्मिक केन्द्र, धार्मिक महिमा, आस्थाको धरोहर, प्राकृतिक सौन्दर्य, विविध वनस्पतिहरु सहितको रमरणीय, शान्त वातावरण रहेकाले आध्यात्मिक, धार्मिक र प्रकृति प्रेमीका लागि आकर्षण गन्तव्य बन्दै गएको छ । यस पृष्ठभूमिमा आयोजित जलेश्वरधाम शिवपुराण महायज्ञ २०८२  धार्मिक —आध्यात्मिक पर्यटन प्रवद्र्धनमा कोशेढंगा सावित हुने विश्वास गरिएको छ । (लेखक राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक (अ.प्रा.) समेत हुन् । )

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update