पाल्पा, पछिल्लो समय पाल्पा अस्पतालको सेवामा सुधार भएको छ । कुनै समय ‘राम्रो उपचार हुँदैन, औषधि पनि पाइँदैन, फोहोर र अव्यवस्थित छ’ भन्ने टिप्पणी सहन बाध्य यस अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ । आकस्मिक कक्ष, ओपिडी, जनरल वार्ड, एक्स–रेलगायत कक्ष तथा शौचालयहरू सफा छन् । अस्पताल परिसरको सरसफाइमा पनि उत्तिकै ध्यान दिइएको छ ।

ओपिडीलगायत कक्षहरूमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिने अवस्थामा सुधार आएको छ । स्वास्थ्य बिमाका विरामीहरुको रेफर सेन्टरको रुपमा समेत आलोचना खेपेको अस्पतालको सेवामा अहिले धेरै नै सुधार हुँदै गएको हो । रेफर सेन्टर नभई उपचार सेन्टरको रुपमा अस्पतालले आफ्नो सेवा प्रवाह गरेको छ । सेवा सुधार भएसँगै विरामीको संख्यामा समेत बृद्धि भएको छ । स्वास्थ्य बिमा लागु हुनुअघिसम्म दैनिक ४० देखि ५० जना बिरामीको सेवा प्रदान गर्दै आएको अस्पतालले अहिले दैनिक ५ सयदेखि ६ सय जनाको हाराहारीमा सेवा प्रदान गर्ने गरेको छ । सेवा सुधारले विरामीको संख्यामा उल्लेखीय वृद्धि भए पनि भौतिक संरचना उही पुरानै हुँदा सेवा प्रवाहमा भने समस्या झेल्नु परेको छ । राणाकालीन समयमा निर्माण गरिएको अस्पतालको भवन र कोठाहरू निकै जिर्ण छन् । अस्पताल भवनको अधिकाश भाग भत्किएर पानी चुहिन्छ, । पानी चुहिएको स्थानमा त्रिपाल तथा कार्पेट टाँसेर गुजारा चलाईएको छ । औषधी राख्ने फार्मेसी तथा स्टोरमा पानी चुहिने गरेको छ । औषधी स्टोरमा पानी चुहिएकै कयौ औषधी विग्रिएर फालिएको अवस्था देखिन्छ । अस्पतालमा मापदण्ड अनुसारको भौतिक पुर्वाधार नहुँदा सेवा प्रवाहमा असहज भएको छ । जनताको आवश्यकता र मागको आधारमा उपचारका सेवा प्रवाह हुन थालेपछि बिरामीको चाप धान्न चिकित्सकहरुलाई धांै धौं भएको छ । अस्पतालको भवन मापदण्ड अनुसार नभएको, विरामी परीक्षण गर्ने कोठाहरु राम्रो र पर्याप्त नभएको, टिकट काट्ने काउण्टरदेखी उपकरण राख्ने स्थान अभाव भएको, विरामी बस्ने तथा पालो कुर्ने स्थान समेत पर्याप्त नभएको, साँघुरो भवनको कारण उपचार गर्न पुगेका विरामीहरु समेत उकुस मुकुसमा पर्ने गरेका छन् । अस्पतालमा भवन अभाव हँुदा नत विरामीले मापदण्ड अनुसारको सेवा पाएका छन् नत चिकित्सकले मापदण्ड अनुसार विरामीको परीक्षण गर्न पाएका छन् । तत्काल भवन निर्माण भएमा निजी क्षेत्रले दिने विशेषज्ञ सेवा समेत पाल्पा अस्पतालमा आउने र पाल्पा गुल्मी, अर्घाखाँची र स्याङ्जाका विरामीले सहज रुपमा सेवा पाउने तानसेन नगरपालिका –६ का मनोहरलाल शाक्यले बताए । पछिल्लो सयम अस्पतालमा उपचार सेवा गुणस्तरीय र भरपर्दाे बन्दै गएको छ । अहिले अस्पतालले विशेषज्ञ चिकित्सक सेवा समेत प्रदान गर्दै आएको छ । उसले हाडजोर्नी, स्त्रीरोग, आँखा, दाँत, तथा कल्चर ल्यावसहित विशेषज्ञ उपचार सेवा दिदै आएको जनाएको छ । अहिले यहाँका चिकित्सकहरु माईनर अपरेसन सेवा सञ्चालनमा जुटेका छन् । ५ बर्षदेखी पाल्पा अस्पतालबाट सेवा लिदै आए पनि चिकित्सकहरुलाई विरामी चेक जाँच गर्ने पर्याप्त कोठा नहुँदा विरामी र चिकित्सकलाई कठिनाई भएको सर्वसाधारणको बुझाई छ । एकै ठाउँमा पाँच÷ छ जना चिकित्सक बसेर विरामीको चेकजाँच गर्नुपर्ने अवस्था छ । अस्पतालमा भिडभाडकै कारण विरामीले आफ्नो पूर्ण समस्या खुलाएर भन्न सक्दैन, कोही मानसिक विरामी हुन्छ, तिनीहरुको लागि त झन् पूर्वाधार अभावले उपचार सेवा दिन चिकित्सकलाई समस्या परेको छ ।
“म मेडिकल सुपरिटेण्डन मात्र होईन हाडजोर्नी विशेषज्ञ भएर पनि भवन अभावको कारण हाडजोर्नी विशेषज्ञ युनिट सञ्चालन गर्न सकेको छैन” अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र पौडेलले भने “अन्य विशेषज्ञ सेवा सञ्चालनको लाग पनि पुर्वाधार अभाव रहेको छ ।” चिकित्सकले अस्पतालमा आएका बिरामीलाई समय दिएर जाँच गर्न चाहन्छौँ, तर ठाउँकै अभावले त्यो सम्भव नभएको अर्का चिकित्सक विपिन पौडेलले बताए । यहाँ १६ वटा विभाग, मेडिकल सुपरिटेण्डन सहित ६४ जना विषय विशेषज्ञ चिकित्सक,६४ जना सरकारी कर्मचारीको दरवन्दी रहेको छ । सरकारी दरवन्दी अनुसार एक जना मेडिकल सुपरिटेण्डन बाहेक अन्य विषय विशेषज्ञ चिकित्सकहरु दरवन्दी खाली रहेको छ । हाल करार, छात्रबृत्ति गरी ५ जना चिकित्सकले विशेषज्ञ सेवा दिएका छन्। अस्पताल व्यवस्थापन समितिले समय सुहाउँदो जनशक्ति र सेवा विस्तार गर्न चाहँदा पनि भवन अभावको कारण रोकिएको छ । लुम्बिनी प्रदेशका ११ वटै जिल्ला अस्पतालमा अप्रेसन सेवा सञ्चालन भए पनि यहाँ भने भवन अभावकै कारण अप्रेसन सेवा सञ्चालन हुन सकेको छैन । अस्पतालमा आवश्यक भवन र कोठाको व्यवस्था नहुँदा दरवन्दी अनुसारको विशेषज्ञ सेवा समेत सञ्चालनमा कठिनाई आएको अस्पताल प्रशासन प्रमुख डोमराज अर्यालले बताए । छ विशेषज्ञ सेवा नै सञ्चालन नभएको स्थानमा विशेषज्ञ चिकित्सकहरु समेत आउन नखोज्ने अवस्था रहेको उनको भनाई छ । अस्पताल विकास समितिले भवन निर्माणका लागि पहल गरे पनि त्यो हुन सकेको छैन । अस्पतालको ८ रोपनी जग्गामा एक्काईसौ शताव्दीको सुविधा सम्पन्न बहुउद्देश्यीय भवन निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग कानुनी जटिला फुकुवाउन लागि परेको समितिका अध्यक्ष अजयमान कर्माचार्यले बताए । उनले भने “लुम्बिनी प्रदेश सरकारबाट पहाडी क्षेत्रमा १२ रोपनी जग्गाबाट, ८ रोपनी क्षेत्रफलमा ५० बेडको अस्पताल निर्माण गर्न सकिने कानुन पास भएकाले प्रदेशबाट विनियोजन भएको १ करोड ५० लाखबाट डिपिआर निर्माण गरी आगामी बर्षबाट अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माण शुरु गर्ने गरी लागि परेका छौं । ” यस अघि भवन निर्माणको लागि पटक–पटक करोडौ बजेट आए पनि कानुनी जटिलाका कारण जग्गा उपलब्ध नहँुदा बजेट फिर्ता जाने गरेको छ । समितिले जनशक्ति र सेवा विस्तार गर्न चाहँदा पनि भवन अभावको कारण रोकिएको छ ।


