Shittalpati
डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं,   पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको हो । डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य यथावत् छ । यसैगरी निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ ।

त्यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ । मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ३९ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update