Shittalpati
कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरौं

७३ औं विश्व कुष्ठरोग दिवस आइतबार नेपालमा पनि मनाइएको छ । यो १९५४ बाट मनाउन थालिएको हो । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाउने गरिन्छ । विश्वभर कुष्ठरोगको निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभाव नियन्त्रण गर्ने प्रयास भएको छ । तर दिवस मनाउन थालेको यतिका वर्ष हुँदासम्म अझै पनि कुुष्ठरोगीहरुप्रति गरिने भेदभावमा भने कमी आउन सकेको छैन । कुुष्ठरोगीहरुलाई आफन्तबाट नै विभेद गरिएको छ । यो अत्यन्त दुःखको कुरा हो ।

कुष्ठरोगीसँग भेदभाव नगरौँ, ‘कुष्ठरोगीलाई माया गरौँ, कुष्ठरोगीप्रति हुने भेदभाव अन्त्य गरौँ भन्ने नारा बर्षौदेखि सुन्दै आएका छौं तर कुष्ठ रोगीप्रति अहिलेपनि हेयको दृष्टिले हेर्ने परम्परा कायमै हुनु भनेको दिवसको प्रभावकारिता हुन नसक्नु  नै हो । वास्तवमा अवब कुष्ठरोगलाई परास्त गर्नैपर्नेछ । दिवसका अवसरमा आयोजना हुने कार्यक्रमले कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न यो दिवसले पनि महत्वपूर्ण काम गर्छ । अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ । नेपालबाट कुष्ठ रोग नियन्त्रण हुँदै गएको भनिएपनि छिटफुटरूपमा देखापर्नु चुनौतिकै विषय हो । पुर्खौदेखि चलिआएको यो रोगले नेपाली समाजलाई नराम्रोसंग जरा गाडेको छ । सामाजिक कुरीति र मान्यताहरूका कारण अझैपनि कुष्ठ रोगीहरूलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । त्यही कारण कुष्ठ रोगीहरू समाजमा अन्तरघुलित हुन सकिरहेका छैनन् । समयै रोगको पहिचान गरी औषधि उपचार गरे निको हुने रोग भए पनि धेरैले यसलाई वेवास्ता गर्ने गरेका छन् । हाम्रो नेपाली समाजलले अझै पनि यो रोगलाई पूर्वजन्मको पाप भएको भन्दै अपमान गर्ने गर्दछन् । यो पूर्व जन्मको पाप होइन, एक किसिमको रोग मात्र हो । जुन औषधि उपचार गरे निको हुुन्छ । 

रोग निवारणमा सरकारले प्राथमिकता नदिँदा संसारकै सबैभन्दा पुरानो मानिएको यो रोगका बिरामी घट्नुको साटो बढिरहेका छन् । यो आफैमा दुःखद् हो । नेपालमा कुष्ठरोगको कारण अपांगता, असहाय तथा विपन्न भएकालाई समुचित व्यवस्थापन गर्दै जान सकिएको छैन । कुष्ठरोग समयमै पत्ता लगाई उपचार गरेमा कुरूप तथा अङ्गभङ्ग हुनबाट जोगिनुका साथै रोग निको हुनेमा सन्देह छैन । तसर्थ आमनागरिकहरुमा कुष्ठरोगीहरुप्रति सम्मान र औषधि उपचार गरे निको हुन्छ भन्ने चेतना जगाउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update