Shittalpati
 शिक्षाको विकास :  हिजो, आज र भोलि

शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो । नेपालको समग्र विकास यात्रालाई नियाल्दा शिक्षाको अवस्था हिजो, आज र भोलि तीन फरक चरणमा उभिएको देखिन्छ । यी तीन कालखण्डले नेपालको शैक्षिक चेतना, उपलब्धि र चुनौतीहरूलाई स्पष्ट रूपमा चित्रण गर्छन् ।

हिजोको नेपालमा शिक्षा सीमित वर्गको पहुँचमा मात्र सीमित थियो । गुरुकुल, विहार र मदरसामा आधारित शिक्षा धार्मिक तथा परम्परागत ज्ञानमा केन्द्रित थियो । राणा शासनकालमा त आमनागरिकका लागि शिक्षा लगभग निषेध नै थियो । विद्यालय र पुस्तकहरू शासक वर्गको नियन्त्रणमा थिए । यस कारण साक्षरता दर न्यून रह्यो र शिक्षा सामाजिक रूपान्तरणको साधन बन्न सकेन । आजको अवस्थामा आइपुग्दा शिक्षा विस्तारको दायरा फराकिलो बनेको छ । सामुदायिक र निजी विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरूको संख्या उल्लेख्य रूपमा बढेको छ । संविधानले शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । प्रविधिको प्रयोग, अनलाइन कक्षा र डिजिटल सामग्रीले सिकाइलाई सहज बनाएको छ । तर यति हुँदाहुँदै पनि शिक्षा क्षेत्रमा गुणस्तर, समान पहुँच र व्यवहारिकताको प्रश्न जस्ताको तस्तै छ । शहर र गाउँ, निजी र सामुदायिक विद्यालयबीचको अन्तर अझै घट्न सकेको छैन । बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणालीप्रति आलोचना बढ्दो छ । अब प्रश्न उठ्छ–भोलिको शिक्षा कस्तो हुनुपर्छ ? भोलिको नेपालका लागि शिक्षा केवल प्रमाणपत्रमुखी नभई सीप, सोच र सिर्जनशीलतामा आधारित हुनुपर्छ । स्थानीय आवश्यकता, प्रविधि, उद्यमशीलता र नैतिक मूल्यलाई समेट्ने पाठ्यक्रम अपरिहार्य छ । शिक्षकको क्षमता अभिवृद्धि, अनुसन्धानमा लगानी र विद्यार्थीको आलोचनात्मक सोच विकासमा ध्यान दिनु आजको आवश्यकता हो ।

शिक्षा सुधार केवल नीति र बजेटले मात्र सम्भव हुँदैन । समाज, अभिभावक, शिक्षक र राज्य सबैको साझा प्रतिबद्धता चाहिन्छ । हिजोको कमजोरीबाट सिक्दै, आजका चुनौतीलाई समाधान गर्दै, भोलिको पुस्ताका लागि गुणस्तरीय र व्यवहारिक शिक्षा निर्माण गर्नु नै आजको राष्ट्रिय दायित्व हो ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update