देश अहिले निर्वाचनको सँघारमा छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक दलका नेता कार्यकर्ताहरु निर्वाचनलाई लक्षित गरी विभिन्न कार्यक्रमहरुमा दौडधुप गर्न थालेका छन् । दल र उम्मेदवारको सूचीमा परेकाहरु मुख धोएर गाउँ–गाउँ पस्न थालिसके । यो समयमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता समेत जारी गरेको छ । आचारसंहिता राजनीतिक दल तथा उम्मेदवारलाई मात्र लागु हुन्छ भन्ने अर्थमा बुझ्नु हुुँदैन । आचारसंहिता देशभर लागु हुन्छ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवार, राजनीतिक दल तथा उम्मेदवारसँग सम्बन्धित व्यक्ति, नेपाल सरकार र नेपाल सरकारका मन्त्री, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था र स्थानीय निकाय, सबै आमसञ्चारका माध्यमका लागि आचारसंहिता लागू हुने उल्लेख गरेको छ । त्यसैगरी नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था र स्थानीय निकायका कर्मचारी र निर्वाचन कार्यमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, गैरसरकारी संघ÷संस्था र निर्वाचन प्रयोजनको लागि आयोगले खटाएको स्वयंसेवकलाई आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । यो अत्यन्त राम्रो हो । स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनको लागि निर्वाचन आचारसंहिताको पालना हुनु आवश्यक छ । निर्वाचन प्रक्रियामा सहभागी हुने सबै पक्षको सन्तोषजनक नैतिक व्यवहार भयो भने मात्र निष्पक्ष निर्वाचन सम्भव हुने हो ।
लोकतान्त्रिक प्रणालीमा निर्वाचन नै देशको भविष्य निर्धारण गर्ने मुख्य माध्यम हो । आचारसंहितालाई बेवास्ता गर्दै नियम विपरीत दलका गतिविधि कुनै पनि अवस्थामा मान्य हुन सक्दैन । आचारसंहिता पालना गर्नु सबैको दायित्व र कर्तव्य हो । निर्वाचन आचारसंहिता विगतका निर्वाचनमा पनि कार्यान्वयनमा ल्याइने गरेकै थियो तर कार्यान्वयनमा भने कमीकमजोरी देखापर्ने गरेका थिए । आचारसंहिता छलेर कार्य भएका गुनासा व्यापक थिए । खास गरी निर्वाचनमा पद र पैसाको दुरुपयोग हुने गरेको थियो । धेरै पैसा खर्च गरेर चुनाव जितेको प्रतिनिधिले पदमा पुगेपछि जनसेवा गर्छ वा आफूले गरेको खर्च उठाउनतिर लाग्छ भन्ने स्पष्टै छ । लागू भएको आचारसंहिता विपरीत जाने छुट कसैलाई पनि छैन । निर्वाचन प्रक्रियामा सहभागी हुने सबैका लागि निर्वाचन आचारसंहिता बाध्यकारी नियम हो । जसको पालना नगरे जोकोही पनि कडा कारबाहीको भागीदार हुुनुपर्छ । यसर्थ निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबै पक्षले आचरसंहिताको पूर्ण रुपमा पालना गरौं ।

