उम्मेदवारी घोषणा भएका खबरहरू धमाधम सार्वजनिक हुन थालेका छन् । आगामी फागुन २१ गतेको निर्वाचनका लागि दलहरु प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याउन अन्तिम कसरतमा छन् । दलहरुले केही उम्मेदवार तय गरिसकेका छन् भने केही उम्मेदवार छनौट गर्न कस्सिएका छन् । विशिष्ट पृष्ठभूमिमा निर्वाचन हुन लागेकाले दलहरूले अघि सार्ने उम्मेदवारबारे नागरिकमा चासो छ । त्यसैले दलहरूले आफ्नो उम्मेदवार टुंग्याउँदा आसेपासेलाई भन्दा अहिलेको विशेष समयको बोध गर्न र यसले माग गर्ने एजेन्डा बोक्न सक्छन् कि सक्दैनन् भनेर हेक्का राख्न जरुरी छ । कतिपय निर्वाचन क्षेत्रका लागि दलहरूले टुंगो लगाएका उम्मेदवारप्रति मिश्रित प्रतिक्रिया आइरहेको छ । यसप्रति पनि दलहरू गम्भीर हुनुपर्ने छ । स्वच्छ छवि, लोकतान्त्रिक मूल्यमान्यतामा प्रतिबद्ध, विगतमा पाएको पदप्रति न्याय गरेका, सम्भावना बोकेका नयाँ अनुहारलाई दलहरूले प्राथमिकता दिए भने त्यसले निर्वाचनलाई स्वस्थ बनाउनेछ, नागरिकको सार्वभौमिकता उपयोगको सुन्दर अवसरमा रूपान्तरण गर्नेछ । तर दलहरुले त्यसतर्फ ध्यान दिन सकेका छैनन् । यो अत्यन्त दुःखको कुरा हो ।
अहिलेका अवस्थामा अधिकांश स्थानबाट पुरानै अनुहार दोहोरिनु विडम्बनापूर्ण हो । सांसदमा पुरानै अनुहार आउनुहुँदैन भन्ने होइन तर कुनै योगदानबिना एउटै व्यक्ति पटकपटक दोहोरिनुको अर्थ पनि छैन । विगतमा उनीहरूले गरेको योगदानका आधारमा मूल्याङ्कन हुनुपर्नेमा एकपटक सांसद भएपछि सधैं हुनुपर्ने जुन योग्यता र मापदण्ड निर्धारण गर्ने प्रयास भएको छ, त्यो कुनै पनि हिसाबले जायज छैन । यसले राजनीतिक नेतृत्वको विकास हुन सक्दैन । जेनजीहरुको माग पनि पुरानालाई नभई नयाँलाई अवसर दिनुपर्छ भन्ने हो । स्थानीय तहदेखि केन्द्रीय राजनीतिमा योगदान गरेका कतिपय नेता दोहोरिए पनि विगतमा निर्वाचन जितेका वा प्रतिस्पर्धा गरेका अधिकांश नेतालाई फेरि पनि जेजसरी दोहो¥याउन खोजिएको छ, त्यो कुनै हिसाबले पनि जायज हुन सक्दैन । त्यसैले दलहरूले आगामी निर्वाचनमा स्थानीय स्तरमा जनताबीच लोकप्रिय र विकास गर्न लालायित अनि इमानदार नेतालाई उम्मेदवार बनाउनुपर्छ । भ्रष्टाचारको आरोप लागेका वा विगतमा विभिन्न पदमा रहँदा अलोकप्रिय निर्णय लिएका, जनताबीच अलोकप्रिय भएका नेतालाई जुन दलले उम्मेदवार बनाउनेछ, त्यो स्वयं त्यही दलका लागि महँगो साबित हुनेछ । तसर्थ दलहरूले नयाँ पुस्ताका युवाहरुको मागलाई मध्यनजर गर्र्दै आफु निकटका व्यक्तिलाई होइन राम्रा र जनताले खोजेका व्यक्तिहरुलाई उम्मेदवार दिने दिशामा ध्यान दिन जरुरी छ ।

