पाल्पा, लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले सहकारीले ऋण दिने मात्र नभई, त्यसको अनुगमन पनि गर्नुपर्ने बताएका छन् । सोमबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको २६ औं साधारण सभा तथा आठौं अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका सांसद रानाले ऋण दिने तर त्यसको अनुगमन नगर्ने गर्दा आर्थिक अनियमिता हुने गरेको उल्लेख गरे । सरकारले कानुन निर्माण गर्दा सरोकारवालाहरुसँग छलफल नै नगर्दा सहकारीहरु समस्यामा परेको सहकारी अभियान्ताहरुको गुनासोप्रति सांसद रानाले तीनै तहका सरकारले सरोकारवाला निकायसँग समन्वय गर्नु पर्ने बताए । उनले भने “ कानुन निर्माणमा सरकारले लचकता अपनाउनुपर्छ, तर कार्यान्वयनमा कठोर बन्नुपर्छ ।” उनले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन महत्वपूर्ण भूमिका खेलेको समेत बताए । सरकारले आर्थिक, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारीसहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै सांसद रानाले सहकारी क्षेत्रले आर्थिकरूपमा बिपन्न परिवारका लागि ठूलो सहयोग पुर्याएको उल्लेख गरे । उनले भने “ पहिले–पहिले साहुमहार्जन कहाँ पुगेर चर्को व्याजमा पैसा ल्याउनुपर्ने विपन्न वर्गको बाध्यतालाई अहिले सहकारीले अन्त्य गरेको छ । सहकारीका माध्यमबाट गरिब परिवारलाई सीप र रोजगारी उपलब्ध गराएर जीवनस्तर माथि उठाउन महत्वपूर्ण भूमिका खेलेको छ ।” सांसद रानाले पछिल्लो समय केही सहकारीहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेका कारण समस्या आएको भन्दै उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्न सहकारीकर्मीहरुलाई आग्रह गरे । उनले उत्पादन मुलक र रोजगारी सिर्जना गर्ने दिशामा सहकारीहरु लाग्न जरुरी रहेको बताए ।

जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष भूपति पाण्डेयले आर्थिक विकासमा सहकारीले महत्वपूर्ण भूमिका खेल्दै आए पनि तीनै तहका सरकारबाट सबै भन्दा बढी सहकारी नै च्यापिएको बताए । उनले ऐन, नीति निर्माण गर्दा सरकारले जिल्ला सहकारी संघ, बचत तथा ऋण सकारी संघ जस्ता सरोकारवाला निकायहरुसँग समन्वय गरेर अगाडि बढ्दा राम्रो हुने उल्लेख गरे । अध्यक्ष पाण्डेयले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सहकारीका अभिलेखहरु अपडेट गर्न सबै सहकारीकर्मीहरुलाई आग्रह गरे । उनले सहकारीहरु संस्थागत बन्नुपर्नेमा जोड दिए । उनले संघहरुले अब सदस्य संख्या वृद्धि नगरी भएका सदस्यहरुलाई व्यवस्थापन गर्न जरुरी रहेको समेत उल्लेख गरे । स्वनियमनका लागि अभियान्ता र सदस्यहरू पनि सजग हुनुपर्ने पनि अध्यक्ष पाण्डेले बताए । कर्जा समयमै तिर्ने, सञ्चालकहरूले ऋण लिएका छन् भने समयमै तिर्नु उनीहरूको दायित्व रहेको उनले उल्लेख गरे । सहकारीलाई आन्तरिक सुशासनमा ल्याउन स्वनियमन प्रभावकारी हुनुपर्नेमा पाण्डेयले जोड दिए । कार्यक्रममा राष्ट्र सेवक कर्मचारी सहकारीका अध्यक्ष पुर्ण प्रसाद घिमिरे, परोपकार स्ववलम्वन बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि मिना थापा, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

संघका अध्यक्ष जगदीश भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तीनै तहका सरकारले बनाएका र बन्दै गरेका ऐन, नियम अनुरुप संघ र सदस्य संस्थाहरुको माध्यमबाट प्रवद्र्धनात्मक कार्य गर्दै आएको बताए । उनले संघले संदस्य संस्थाहरुको व्यवस्थापन, नयाँ सदस्य संख्या वृद्धि, सहकारी तालिम सञ्चालन गरेको उल्लेख गरे । अध्यक्ष भट्टराईले सहकारीहरुमा समस्या आउन सक्ने केही संकेतहरु देखा परेकाले त्यसतर्फ सचेत बन्न सबै सहकारीहरुलाई आग्रह गरे । संघका अध्यक्ष जगदीश भट्टराईको अध्यक्षता, उपाध्यक्ष तुल्सीराम भुसालको स्वागत, सचिव धनबहादुर रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।



