निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनबाट चयन भएको नयाँ काँग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको छ । पार्टी नेतृत्वको असहमतिबीच महामन्त्रीद्वयको आह्वानमा भएको विशेष महाधिवेशनले बहुमत प्रतिनिधिको उपस्थितिमा चयन गरेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएसँगै काँग्रेसमा लामो समयदेखि चल्दै आएको पुरानो नेतृत्वको युग अन्त्य भएको छ । यसले सुखद सन्देश दिएको छ । शीर्ष राजनीतिक नेतृत्वको हठबाट निराश पंक्ति पनि आशावादी देखिएको छ । त्यसैले कांग्रेसभित्रको उथलपुथलले नेपाली राजनीति र समाजमा बहुआयामिक प्रभाव पार्ने आकलन गर्न सकिन्छ । मुख्यतः सबैजसो स्थापित पार्टीमा पुराना पुस्ताका नेताहरूको दबदबा छ र त्यहाँभित्र उकुसमुकुस सिर्जना भएको छ । त्यसैले कांग्रेसभित्रको परिवर्तनले ती अन्य पार्टीमा पनि पुरानो नेतृत्व बहिर्गमनको दबाब र औचित्यलाई थप बलियो बनाउनेछ । साथै, कांग्रेसभित्र महाधिवेशन प्रतिनिधिहरूले जसरी आफ्नो स्वतन्त्रता र सार्वभौमिकताको उपयोग गरे, त्यसले सबै पार्टीका नेता तथा कार्यकर्तालाई उत्प्रेरित गरेको छ । तर यसो भन्दै गर्दा काँग्रेसको नेतृत्व गरेका सभापति गगन थापासामु भने अनेकौं चुनौती रहेका छन् ।
संस्थापन शेरबहादुर देउवासहित पक्षले संवैधानिक र कानुनी प्रश्न उठाई अदालतमा चुनौती दिने बताइसकेको छ । सभापति चुनिएलगत्तै नयाँ र बदलिएको कांग्रेस दाबी गरेका गगनले अबका दिनमा त्यसलाई पुष्टि गर्न र वैधानिकता दिलाउन बाँकी थुप्रै काम गर्नुपर्ने देखिन्छ । किनकि, उनी नेतृत्वको नयाँ कार्यसमितिलाई फरक पार्टीले मात्र होइन, स्वयं कांग्रेसबाटै प्रश्न उठाइएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनका प्रतिनिधिहरूको सही ढंगले सनाखत नगरेको, जबरजस्ती निर्णय गरेको भन्दै देउवा र उनी निकट नेताहरूले प्रतिक्रिया दिने मात्र होइन, न्यायको लडाइँ लड्ने तयारी गरेका छन् । यो अवस्थामा आफ्नै पार्टीभित्र त्यो पनि अघिल्लो केन्द्रीय समितिमा बहुमत रहेको देउवा र नेता शेखर कोइराला पक्षलाई आश्वस्त तुल्याइ अघि बढ्नु फलामको चिउरा चपाएसरह हुनेछ । अर्को तर्फ आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा चुनावको तयारी गर्नुपर्ने छ । तर गगन नेतृत्वको वैधानिकता परीक्षण गर्न देउवा पक्ष सर्वोच्च अदालत पुग्दा तयारी कमजोर बन्न पुग्छ । यो चुनौती झेल्दै वैधानिकताको प्रमाण बोकेर अदालत धाउनु गगनका लागि सजिलो विषय होइन । चुनावको बेला पार्टी दुईतिर हुँदा देशभित्र र बाहिर रहेका कांग्रेसजनमा व्यापक निराशा छाएको छ । यस्तो अवस्थामा गगनलाई ठूलो चुनौति रहने छ ।

