पाल्पा, करदाता सेवा कार्यालय पाल्पाले प्रदान गर्दै आएका सेवाहरू आइतबारदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), पाल्पाबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ । आन्तरिक राजस्व कार्यालय बुटवलका अधिकृत हरि बश्याल र कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका निमित्त प्रमुख कोष नियन्त्रक हरि ज्ञवालीले करदातालाई व्यक्तिगत प्यान दर्ता प्रमाणपत्र प्रदान गर्दै सेवा शुभारम्भ गरेका हुन् ।
सेवा शुभारम्भ गर्दै आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत बश्यालले नेपाल सरकार मन्त्रीपरिषद्को २०८२ कात्तिक १७ गतेको निर्णय अनुसार करदाता सेवा कार्यालयहरू खारेज गरिएपछि पाल्पा करदाता सेवा कार्यालयले प्रदान गर्दै आएका सम्पूर्ण सेवा अब कोलेनिकाबाट सञ्चालनमा ल्याइएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख कोष नियन्त्रक ज्ञवालीले करदाता सेवा कार्यालय पाल्पाबाट सम्पादन हुँदै आएका सेवाहरू अब करदातालाई सहज, छिटो, चुस्तदुरुस्त तथा प्रभावकारी रूपमा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । सेवा प्रवाहका क्रममा करदाताबाट कुनै पनि प्रकारको गुनासो नआउने गरी काम गरिनेमा आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ । ज्ञवालीले करदातालाई ढुक्क भएर सेवा लिन आग्रह समेत गरे । कार्यालयका कर अधिकृत चिरञ्जिवी बस्यालले सेवा शुभारम्भ भएदेखि एक सातासम्म पाल्पास्थित सेवा कार्यालयका कर्मचारीबाट प्रशिक्षण दिने काम हुने बताए । उनले भने “सुरुमा कोलेनिकाका कर्मचारी साथीहरुलाई प्रशिक्षण दिन्छौं , त्यस पछि सेवालाई कोलेनिकाकै कर्मचारीबाट प्रवाह हुने छ ।”


