पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा भएको टिपर दुर्घटनामा मृत्यु हुनेको विवरण खुलेको छ । मृत्यु हुनेमा चालक धादिङको थार्के गाउँपालिका–३ का ३१ वर्षीय केशव परियार रहेको प्रहरी चौकी अर्गेलीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
बुधबार विहान नवरलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको ना ८ ख ३६५ नम्वरको टिपर दुर्घटना भएको हो । टिपर सडकदेखि २ सय ५० मिटर तल खोलामा खसेको छ । टिपर विहान ४ : ०० बजे दुर्घटनामा परेको हो ।
विहानै अध्यारो भएको र खोला, झाँडी कारण अनुसन्धानमा कठिनाई भएको थियो । दुर्घटना लगत्तै प्रहरी चौकी हार्थोक र अर्गलीबाट प्रहरी घटनास्थल पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


