पाल्पा, जिल्लाको तानसेनस्थित टुँडिखेल मैदानमा जिल्लास्तरीय अन्तर विद्यालय “प्याब्सन कप” २०८२ सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले आफ्नो स्थापना दिवसको अवसरमा “प्याब्सन कप” को सञ्चालन गरेको हो ।

जहाँ क्रिकेट, भलिबल र ब्याडमिन्टनका खेलहरुमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा प्याब्सनमा आवद्ध ३८ विद्यालयमध्ये १४ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका छन् । प्रतियोगिताको शनिबार तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले शैक्षिकसँगै खेल क्षेत्रको विकासमा प्याब्सनले देखाएको सक्रियता महत्वपूर्ण रहेको बताए । उनले खेलकुद स्वस्थ जीवनयापनका साथै अनुसाशनमा रहन र आफ्नो प्रतिभा देखाउने माध्यम रहेको उल्लेख गरे । नगर प्रमुख श्रेष्ठले विद्यालयस्तरमा नै खेलकुदलाई महत्व दिन आवश्यक रहेको बताए । उनले पाल्पा विगतमा खेलकुद क्षेत्रमा ख्याति कमाएको जिल्ला भएकाले यसलाई स्थानीय सरकारले प्राथमिकताका साथ हरेक वर्ष बजेट विनियोजन गर्दै आएको उल्लेख गरे । खेलाडीहरु राष्ट्रका गहना भएकाले उनीहरुको प्रतिभाको मूल्याङ्कन गरि उचित वातावरण र अवसर दिनु अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।

प्याब्सनका जिल्ला अध्यक्ष डाँसुराम पन्तले खेलकुदलाई प्राथमिकता दिएर विगतदेखी नै आफ्नो स्थापना दिवस मनाइँदै आइएको बताए । उनले उनले भने “हामीले प्याब्सन स्थापना दिवसको अवसरमा विगतमा खेलकूदका गतिविधिहरु गर्दै आएका थियौं, बिचमा केही समय ग्याप हुन गयो, अहिले आएर फेरी त्यसलाई निरन्तरता दिएका छौं ।” विद्यार्थीहरुमा थुप्रै अन्तरनिहित क्षमताहरु रहेकाले ति क्षमतालाई प्रस्फुटन गर्न खेलले महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष पन्तले विश्वास व्यक्त गरे । चार दिनसम्म चल्ने प्रतियोगितामा क्रिकेट, भलिबल र ब्याडमिन्टन विधाका खेलहरु हुने उनले जानकारी दिए । खेलमा १४ विद्यालयका छात्र छात्रहरुको सहभागिता रहेको छ । प्रतियोगिताको शुभारम्भ प्याब्सनका जिल्ला अध्यक्ष पन्तको अध्यक्षता, सल्लाहकार तथा प्याब्सन प्रदेश सदस्य पुर्ण बहादुर थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । क्रिकेट खेलको नगर प्रमुख श्रेष्ठले व्याटिङ र प्याब्सनका जिल्ला अध्यक्ष पन्तले बलिङ गरेर उद्घाटन गरेका थिए ।



-1762576335.jpg)