Shittalpati
तानसेन नगर सभाको १८ औं अधिवेशन, तीन विधेयक पारित

पाल्पा,जिल्लाको तानसेन नगरपालिका नगर सभाको १८ औं अधिवेशन भएको छ । विहीबार भएको नगर सभाको अधिवेशन विभिन्न विधेयक सहित प्रगति प्रतिवेदन पारित गर्दै सकिएको हो ।

हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले सार्वजनिक महत्वका तीन विधेयक सर्वसहमत रुपमा पारित गरेको छ । नगरसभाले विनियोजन ऐन २०८२ (पहिलो संशोधन विधेयक), आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र विज्ञापन कर (व्यवस्थापन तथा नियमन) विधेयक २०८२ सर्वसम्मत रुपमा पारित गरेको हो । सभामा उपप्रमुख प्रतिक्षा सिंजालीले विनियोजन ऐन २०८२ (पहिलो संशोधन विधेयक), आर्थिक कार्यविधि समितिका संयोजक महेश्वर श्रेष्ठले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र संयोजक हेमन्तराज शाक्यले विज्ञापन कर (व्यवस्थापन तथा नियमन) सम्बन्धी विधेयक २०८२ बहुमतले पारित गरियोस् भनि प्रस्तुत गरेका थिए । प्रस्तुत विधेयक सर्वसम्मत रुपमा पारित भएको सभाका अध्यक्ष तथा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सभामा जानकारी गराएका थिए ।

नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट एक अरब छ्यालीस करोड पचास लाख छ्यानब्बे हजार आठ सय सात  रुपैया विनियोजन भएकोमा अर्धवार्षिक  अवधिमा उठेको राजश्व र लक्ष्यमा रहेको भिन्नतालाई पुरण गर्न तथा विभिन्न आयोजनाबाट प्राप्त रकम सञ्चित कोषमा आम्दानी बाध्न नसकिने भएको र संघ र प्रदेशबाट ऐन पारित पश्चात प्राप्त भएको अनुदान समेत समेटी बजेट संशोधन गर्न बाञ्छनीय भएकोले विनियोजन ऐन २०८२ (पहिलो संशोधन विधेयक) नगर सभामा पेश गरिएको उपप्रमुख सिंजालीले बताइन् । यस्तै स्थानीय सञ्चित कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोबारको लेखाङ्कन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा अन्य आर्थिक क्रियाकलापलाई नियमित र व्यवस्थित गरी वित्तिय व्यवस्थापन प्रणालीलाई पारदर्शी, नतिजामूलक तथा उत्तरदायी  बनाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न बाञ्छनीय भएकोले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याइएको संयोजक महेश्वर श्रेष्ठले बताए । यस्तै वस्तु तथा सेवाको प्रचार प्रसार गरी बजार प्रवद्र्धन गर्न गरिने विज्ञापन तथा तत्सम्बन्धी व्यवसायीलाई नियमन  गर्न  र विज्ञापन करको संकलन प्रक्रियालाई व्यवस्थित गर्न बाञ्छनीय भएकोले विज्ञापन कर (व्यवस्थापन तथा नियमन) सम्बन्धी विधेयक २०८२ ल्याइएको समितिका संयोजक हेमन्तराज शाक्यले बताए ।

त्यस्तै नगरसभामा न्यायिक समितिका संयोजक तथा उपप्रमुख सिंजालीले न्यायिक समितिको प्रतिवेदन र पेश गरेकी थिइन् । उक्त प्रतिवेदन पनि सर्वसम्मत रुपमा पारित भएको छ ।  यस्तै संगठन तथा व्यवस्थापन संरक्षण समितिका संयोजक रामबहादुर रावलले नगर सभामा संगठन तथा व्यवस्थापन संरक्षण २०८२ प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव पनि सर्वसम्मत रुपमा पारित भएको छ ।  सभामा सदस्य माधव बस्यालले प्रस्तुत विधेयक र प्रतिवेदन माथि टिकाटिप्पणी गरेका थिए । लोकतान्त्रिक पद्दतिको परिपालना गरेर संसदीय अभ्यासबाट सञ्चालन गरिएको नगरसभा नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता र सूचना अधिकारी भरत आचार्यको सञ्चालनमा चलेको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update