पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिका –२ जल्पाकी सिता दर्लामीलाई योजना सम्झौता गर्न पालिका जानुपर्ने थियो । तर समय र खर्च बढी लाग्ने भएपछि उनी सम्झौता गर्न जाने जागरमा थिइनन् । वडामा शिविर आएपछि भने अहिले उनले उत्साहित हुँदै योजना सम्झौता गराईन । शिविरमा सेवा लिन पुगेकी उनले भनिन् “पालिकामा योजना सम्झौता गर्न जादाँ करीव ४ हजार रुपैया जति खर्च लाग्दथ्यो, गाडी रिजर्व गरेर नै वडाको योजना सम्झौता गर्न पालिका जानुपर्ने बाध्यता थियो तर वडामै पालिकाले घुम्ती शिविर सञ्चालन गरेर आफुजस्ता उपभोक्ता समितिलाई ठूलो राहत मिल्यो ।” उनी जस्तै यहाँका धेरै उपभोक्ताले गाउँघरमबाटै पालिकाबाट पाइने सेवा पाएपछि खसी भएका छन् । गाउँपालिकाले ६ वटै वडाका जनताको आवश्यकता, सहजता र पहुँचलाई केन्द्रमा राख्दै गाउँ बस्तीमा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको क्रममा योजना सम्झौतादेखि बैंक खाता सञ्चालन, विभिन्न सामाजिक, आर्थिक र प्रशासनिक सेवाहरू गाउँपालिकाले गाउँमै पुगेर उपलब्ध गराएको छ ।
गाउँपालिकाको यो अभियानले आफुहरुलाई धेरै सजिलो भएको भन्दै ज्येष्ठ नागरिकहरु खुसी भएका छन । अहिले अस्पतालमा उपचार गर्न देखी पालिका पाउने सेवा सुविधा लिन, विभिन्न किसिमका छुट सुविधा लिन पनि ६० बर्ष उमेर पार गरेका व्यक्तिहरुलाई ज्येष्ठ नागरिक परिचय पत्र अनिवार्य हँुदै गएको छ । पालिका गएर घर फर्किन दिनभरी लाग्दछ, आफ्नै घर अगाडि शिविर चलेको थाहा पाएर परिचय पत्र बनाउन आएको ज्येष्ठ नागरिक रन बहादुर रखाल मगरले बताए । हामी पन्ध्र जना साथीहरु मिलेर ज्येष्ठ नागरिक परिचय पत्र बनाउन शिविरमा आएको उनले सुनाए । गाउँपालिकाले वडाको टोल बस्तीमा पुगी एकिकृत घुम्ती सेवामा योजना सम्झौता, बैंक खाता सञ्चालन, व्यवसाय दर्ता तथा नवीकरण, अपाङ्गता परिचयपत्र वितरण, जन्म–मृत्यु दर्ता लगायतका पञ्जीकरण सेवा, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, महिलाहरूको पाठेघर मुखको क्यान्सर परीक्षण, परिवार नियोजन सेवा, पशुपक्षी उपचार तथा औषधि वितरण, कृषि परामर्श र माटो परीक्षण, वैदेशिक रोजगार सम्बन्धी सेवा तथा परामर्श, घरजग्गा नक्सा पाससम्बन्धी अभिमुखीकरण, शैक्षिक परामर्श तथा अभिभावक विहिन बालबालिकालाई छात्रवृत्ति वितरण लगायतका सेवा प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता मेहर सिंह थापाले बताए । घुम्ती शिविरमा ६ वटै वडाबाट ६५ वटा योजना सम्झौता भएका छन् भने ६५ वटा बैक उपभोक्ता समितिको बैक खाता सञ्चालन भएको छ । शिविरमा १७३ जनाले घरदैलोमै व्यवसाय दर्ता गराएका छन । २२२ जना जेष्ठ नागरिकले वडा कार्यालयबाटै जेष्ठ नागरिक परिचय बनाएका छन् । ९१ जना कृषकहरुले शिविरमा माटो परीक्षण गराए । ३६ जना अभिभावक विहिन बालबालिकालाई अन्य १ सय गरी १३६ जना बालबालिकाले शैक्षिक छात्रबृत्ति वितरण पाएका छन् । ५०८ घरधुरी कृषकका ८८९७ पशु पंक्षीहरुको लागि उपचार तथा औषधी वितरण गरिएको छ । यसैगरी स्वास्थ्यतर्फ ४४७ जनाले ओपिडी सेवा लिएका छन् भने ३९५ जनाले एच पि भि तथा डि एन ए सेवा लिएका छन् । १६४ जनाले भि आई ए सेवा लिएका छन् । १ जनाले आरएमजी सेवा पाएका छन् । भिआईए मध्ये ८ जना पोजेटिभ देखिएकोमा प्राथमिक उपचार गरी अन्य अस्पतालमा रिफर गरिएको छ । २१ जनाले परिवार नियोजनको इम्पलान्ट सेवा लिएका छन् । १२ जना पाठेघर खसेका विरामीको उपचार भएको छ । घुम्ती शिविरबाट ४९ जनाले वैदेशिक रोजगारीका विषयमा परामर्श सेवा पाएको, ३ जनाले श्रम स्विकृती पाएका छन् । २ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् । ६ वटै वडामा सञ्चालन भएको घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता भएको गाउँपालिकाका सूचना अधिकारी मोहन प्रसाद ढकालले बताए ।
गाउँ–गाउँमा भएका सेवा प्रवाहमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना गुनासा, सुझाव र समस्या राख्न पाउने अवसर पाएको सेवाग्राही डोलराज विकले बताए । घुम्ती शिविरले सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता बढेको महशुस गरेको उनको भनाई छ । स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले पहुँचभन्दा टाढा बसेका जनताको लागि यस्ता शिविरले राहत मिलेको छ । घुम्ती शिविरले जनताको समय, खर्च र झन्झट घटाएको छ भने पूर्वखोला गाउँपालिकाको सेवाप्रति जनतामा विश्वास पनि बढाएको छ । जनताको माग र आवश्यकतालाई ध्यानमा राखेर घुम्ती शिविर मार्फत पालिकाले सबै सेवा सुविधा एउटै छानमुनी उपलब्ध गराएको पालिका अध्यक्ष नुन बहादुर थापाले बताए । अधिकाश गाउँमा पुरुषहरु रोजगारीको लागि विदेशिएका छन् । गाउँका सामाजिक कामदेखी व्यवहारिक काममा महिला नै अग्रसर हुँदै आएका छन् । पालिकाका हरेक योजनामा महिला सहभागिता बढ्दै गएको छ । शिविरमा सबैभन्दा बढी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गले सेवा लिएको गाउँपालिका उपाध्यक्ष भागीरथी शर्मा भट्टराईले बताईन । पालिकामा केन्द्रिकृत रहेको सेवालाई पूर्वखोला गाउँपालिकाले वडा, वडाको टोलबस्तीमा पुर्याएको छ । पालिकाको केन्द्रमा पाउने सबै किसिमका सेवाहरु आफ्नै गाउँ ठाउँमा पाएका छन् ।
गाउँपालिकाले बार्षिक रुपमा एक पटक र अन्य समयमा अवस्था अनुसार एकिकृत घुम्ती शिविर सञ्चालन गर्दै आएको र जनताको मागमा आधारित भएर पालिकाले शिविरमा सेवाका प्रकृतिहरु विस्तार गर्दै लगिएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । एकै स्थानमा विस भन्दा बढी एकिकृत सेवा प्रवाह पाउँदा जनताहरु उत्साहित भएका छन् । जसको कारणले जनताको धेरै पैसाको बचत भएको छ भने एकै दिनमा सबै किसिमको सेवा सुविधा एउटै स्थानबाट पाउँदा समयको पनि बचत भएको छ । पालिकामा मात्र सिमित रहेको सेवा गाउँ गाउँमा पुग्दा जनतामा सकारात्मक धारणा बढेको, वडा तथा पालिकाका योजना कार्यान्वयमा छिटो छरितो भएको, पालिका गएर सेवा लिदा धेरै पटक पालिका धाउनु पर्ने, वडावासीको हजारौं रुपैया खर्च हुन्थ्यो, एकिकृत घुम्ती शिविर मार्फत जनताले वडा कार्यालयबाटै पालिकाले दिने सबै किसिमका सेवा सुविधा पाएको २ का वडा अध्यक्ष निर बहादुर सारुले बताए ।


-1762576335.jpg)