पाल्पा, राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत मात्रै सकिएको छ । अहिलेसम्म १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको निर्माण कार्य सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ । सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधिन छन् । सुरुङभित्रको पर्खाललाई कंक्रिट, सटक्रिट, ब्लक वा अन्य सामग्रीले छोप्ने काम भएको छ ।
केही दिन अघि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको अनुगमन समेत गरेका छन् । उनले आयोजनाको अनुगमन गर्दै सुरुङमार्ग निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् उनले निर्माणलाई तीव्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न सिद्धबाबा सुरुङमार्ग आयोजना र निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । निर्मााण व्यवसायीले विभिन्न बाहाना देखाएर म्याद थप गर्न माग गरेपछि उनले समयमै काम गर्न आग्रह गरे । मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच सम्पादन हुन बाँकी रहेका केही भए त्यसलाई तत्काल सहमति गरेर टुंग्याउन निर्देशन दिए । समयमै गर्नु पर्ने निर्णय नगरेका कारणले निर्माण कार्यमा कुनै पनि हालतमा ढिलाइ हुन नहुने उनको भनाई छ । निर्माण व्यवसायीले विभिन्न कारण देखाउदै १९ महिना म्याद थप गर्न माग गरेको छ । बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार एक सय २६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ ।
सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माणको काम भइरहेको हो । नेपाल सरकारको आफ्नै स्रोतमा निर्माणाधीन यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा बर्सेनि हुने पहिरो र ढु·ा खस्ने समस्याबाट यात्रुले मुक्ति पाउनेछन् ।


