समाज परिवर्तनको आधार आजका युवाहरू नै हुन्, यो यथार्थलाई आत्मसात् गर्दै अघि बढ्नु आजको आवश्यकता हो । नेपालको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणमा युवाहरूको भूमिका निर्णायक रहँदै आएको छ । जनसंख्याको ठूलो हिस्सा युवावर्गले ओगटेको हाम्रो मुलुकमा सामाजिक उत्तरदायित्व वहन गर्ने मुख्य शक्ति पनि युवाहरू नै हुन् । सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गर्नु पर्दा समाजप्रति सचेत भई सकारात्मक परिवर्तनका लागि योगदान दिने र त्यसको नैतिकता, सहकार्य, नागरिक कर्तव्य र मानवीय संवेदनशीलता महत्वपूर्ण पक्ष हुन ।
नेपालजस्तो विकासोन्मुख देशमा गरिबी, बेरोजगारी, अशिक्षा, सामाजिक विभेद, भ्रष्टाचार र वातावरणीय समस्या जस्ता चुनौतीहरू विद्यमान छन् । यस्ता समस्याको समाधान केवल राज्य संयन्त्रबाट मात्र सम्भव हुँदैन । यहाँ युवाहरूले सचेत नागरिकको हैसियतले समाज परिवर्तनको अगुवाइ गर्न आवश्यक छ । शिक्षित र ऊर्जाशील युवाहरूले सामाजिक अभियान, स्वयंसेवा, सामुदायिक विकास तथा सचेतनामूलक गतिविधिमा सक्रिय सहभागिता जनाएमा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ । हाल सामाजिक सञ्जाल युवाहरूको बलियो माध्यम बनेको छ । यसको सदुपयोग गर्दै युवाहरूले गलत सूचना विरुद्ध आवाज उठाउने, सामाजिक विकृति–विसंगतिका विरुद्ध बहस सिर्जना गर्ने र रचनात्मक विचार साझा गर्ने जिम्मेवारी लिनुपर्छ । नकारात्मक प्रयोगले समाजलाई भड्काउने भन्दा पनि तथ्यपरक र जिम्मेवार अभिव्यक्तिबाट सामाजिक उत्तरदायित्व पूरा गर्न सकिन्छ । तर पछिल्लो समय जतिपनि सामाजिक या राजनीतिक सवालमा गम्भीर प्रकारका विषयवस्तुमा प्रश्न उठ्ने गर्दछन् त्यतिबेला आस्था र विचारको जगमा युवा विभाजनमा देखिन्छन् । अधिकार, कर्तव्य र सामाजिक उत्तरदायित्व विपरीत गलत काम र प्रवृत्ति गर्नेलाई गलत भन्न नसक्नु, अनेकन तर्कवितर्क गर्ने कार्यशैलीले युवा आफैमा विचार बिहिन र कमजोर भइरहेको छ । यो अत्यन्त दुखको कुरा हो । सामाजिक सञ्जालमा समेत सकारात्मक सोच र रचनात्मक क्रियाकलाप गर्नुभन्दा आलोचनात्मक भूमिकामा युवाको अग्रसरता बढी भएको देख्न सकिन्छ । युवालाई राजनीतिक नेतृत्वले आफ्नो छाँया वा प्रभावमा पारेर विभिन्न किसिमले प्रयोग गरिरहेको कतिपय कुरा, व्यवहार र कार्यशैलीबाट बुझ्न र आत्मसात गर्न सकिन्छ । राजनीतिक दलका नेताप्रति आलोचनात्मक टिप्पणी र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिन समेत युवापिँढी पछि नपर्ने, लालायित हुने अहिलेको अवस्थामा कतिपयको बानी नै परिसकेको छ । यही परिपाटीको विकासले आपसी असमझदारी, असन्तुष्टि र मनमुटाव बढ्दै जाने र युवाको सामाजिक रुपान्तरण र परिवर्तनको साहसले उचाइ चुम्न सकेको देखिदैन । युवामा सिर्जनशिलता, वैज्ञानिकता, जिम्मेवारीपूर्ण व्यवहार, उद्यमशीलता नागरिक सोच र जवाफदेहिताको विकास गरि न्याय र नैतिकतामा आधारित स्वच्छ सामाजिक जीवनको विकास गर्न उनीहरूभित्र अन्तर्निहित क्षमताको विकास गर्न जरुरी छ ।

