एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ः०० देखि बेलुका ५ः०० बजेसम्म मतदान हुँदैछ । मतदान महाधिवेशनस्थल भृकुटीमण्डपमा हुँदै छ । एमालेले यसपटक पनि विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्दै छ । महाधिवेशनमा दुई हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । एमालेका लागि यो महाधिवेशन सबल नीति र नेतृत्व चयन गर्ने ऐतिहासिक अवसर पनि हो । यो अवसरलाई एमालेले भरपुर उपयोग गर्न आवश्यक छ ।
नेतृत्व सधैँभरि एउटै आकार र मान्यतामा मिल्ने कुरा होइन । यो त समाज र संगठनको भावना, दृष्टि, सन्दर्भ, सम्बन्ध र सञ्चारको एक गतिशील र परिवर्तनशील अन्तरक्रिया हो । अव्यवस्थित र विखण्डित मानसिकता, अस्पष्ट दृष्टिकोण, शब्दजालमा अत्याधिक र अनियन्त्रित निर्भरता जस्ता पक्ष छिचोल्नै नसकिने चुनौती होइनन् । यस किसिमका समस्या र चुनौतीहरूलाई अनुकूलन गर्दै अगाडि बढ्नु नेतृत्वका लागि अवसर पनि हुन् । नेतृत्व निरन्तरको भुलभुलैया होइन र सिद्धान्तलाई कम्पास मानेर हिँड्नुलाई पूर्णता मान्न सकिँदैन । यो त स्पष्ट, नम्र भएर यात्रामा आइपर्ने अनुभवलाई संगाल्दै र पाठहरूलाई अंगाल्दै उच्च साहसद्वारा निर्देशित कर्म हो । यसर्थ व्यक्तिगत स्वार्थभन्दा सधैँ माथि उठेर अरूलाई पनि सशक्त बनाउने र सदैव पे्ररित गर्ने काम असल नेतृत्वले गर्छ । त्यो नेतृत्व चयन गर्ने दिशामा एमाले कार्यकर्ताले सोच्नपर्छ । अहिले नेतृत्वमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदै गर्दा युवापुस्ताको सहभागिता, समावेशिता र भविष्यको नेतृत्व निर्माण कसरी हुन्छ भन्ने प्रश्न निर्णायक बन्नेछ । देशका ठूला राजनीतिक दलहरूले लिने नीति र चयन गर्ने नेतृत्वले नै मुलुकको भविष्य निर्धारण गर्छ । एमालेको यो महाधिवेशनले विगतको गौरवमात्र सम्झेर होइन, वर्तमानका चुनौती र भविष्यका अपेक्षालाई आत्मसात् गर्दै नेतृत्व चयन गर्न आवश्यक छ । युवापुस्तालाई विश्वासमा लिने, आन्तरिक लोकतन्त्र बलियो बनाउने र जबजको मार्गदर्शनमा देशलाई स्थायित्व, सुशासन र समृद्धितर्फ लैजाने स्पष्ट नीति तर्जुमा गर्न सक्नु नै यस महाधिवेशनको ऐतिहासिक जिम्मेवारी हो । यही अपेक्षा आज पार्टीपंक्ति मात्र होइन, सिंगो देशले राखेको छ । यस विषयमा मुलुकको प्रमुख राजनीतिक शक्ति एमालेका नेता कार्यकर्ताले विशेष ध्यान पुर्याउनु आवश्यक छ ।

