Shittalpati
दलहरूको सक्रियता

दलहरूको सक्रियता आगामी फागुन २१ को निर्वाचन–तिथि नजिकिँदै गर्दा एकपछि अर्को गरी राजनीतिक गतिविधिहरू भइरहेका छन् । दलमा आफू र आफ्नो टिमलाई स्थापित गर्ने गरी सबैजसो दलमा गतिविधि भइरहेका छन् । यसले मुलुक नजानिँदो गरी निर्वाचनतर्फ अग्रसर भइरहेको प्रतित हुन्छ । तोकिएकै समयमा निर्वाचन होला वा नहोला त्यो आफ्नो ठाउँमा छ तर, मुलुकका गतिविधिहरूलाई निर्वाचनले निर्देशित गर्न थालेको प्रस्ट देखिन्छ । विशेष गरी नेपाली काँग्रेसले क्षेत्र, जिल्लाबाट उम्मेदवार सिफारिसको कामलाई तिव्रता दिएको छ भने नेकपा एमालेले संगठन बलियो बनाउन अधिवेशनलाई तिव्रता दिएको छ । १६ वाम घटक दलहरु मिलेर बनेको नेकपाले निर्वाचनका लागि एकता सन्देश सभालाई गाउँ गाउँमा पुर्‍याएको छ । दलहरूबिचको ध्रुवीकरण प्रक्रियाले समेत तीव्रता पाएको छ ।

आफूलाई भोलिको निर्वाचनमा स्थापित गर्न सहज हुने गरी दलहरूमा एकता भइरहेको छ । सरकारले चुनाव घोषणा गरेको सन्दर्भमा त्यसमा भाग लिन चाहने दलहरूको संख्या समेत बग्रेल्ती देखिएको छ । चुनावमा जति धेरैको इच्छा र सहभागिता भयो, त्यति नै लोकतन्त्र बलियो हुने हो । तर पछिल्लो परिस्थितिमा भने चुनावको मौका देखेरमात्रै लहलहैमा दलहरू खोलिएका हुन् कि भन्ने पनि देखिन्छ । त्यसो किनभने जति दलहरू निर्वाचन आयोगमा दर्ता भए, तीमध्ये सबैले चुनावमा भाग लिने पनि देखिएन । आयोगमा १ सय ४३ दल दर्ता छन् । तर आसन्न निर्वाचनका लागि सबै दल मैदानमा छैनन् । दुई दर्जनभन्दा बढी दलले चुनाव लड्ने गरी आफूलाई आयोगको प्रक्रियामा लगेनन् । लोकतन्त्रका लागि सुखद पक्ष होइन । दल दर्ता गर्नु तर जनतामा जान डराउनु कत्ति सुखद होइन । लोकतन्त्रमा त जनताका लागि चुन्ने धेरै छनोटका अवसर भएकै जाती हो । पुराना दलले आफूलाई सच्चिएको देखाउनु र नयाँ दलले जेनजी आन्दोलनबाट देखापरेको नौलो क्षिजितमा आफूलाई उदीयमान गराउनुपर्ने चुनौतीपूर्ण घडी यतिबेला देखिएको छ । त्यसैले मिल्न सक्नेहरू मिल्ने, धुवीकरण गर्नेहरू शक्ति सञ्चय गर्नुपर्ने अवस्थामा मुलुक छ। यसै पनि हाम्रा निर्वाचनमा सरकारमा रहेकाहरू पराजित हुने मानसिकता छ । तर, मुलुकमा निर्वाचन प्रयोजनको अन्तरिम सरकार भएकाले आ–आफ्नो भविष्य छिनोफानो गर्न दलहरू सक्रिय भएर लाग्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update