पाल्पा, नवलपरासी पूर्व अरुणखोलाबाट पाल्पाको रामपुर नगरपालिकातर्फ गईरहेको यात्रुवाहुक जिप आज विहान दुर्घटना हँुदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । लु १ ज ३९०८ नम्वरको फोर्स जिप पाल्पाको निस्दी गाउँपालिका वडा नंं ४ मित्याल चिउरीबासमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक होम प्रकाश चौधरीले बताए । दुर्घटनामा परी मृत्यु भएका मध्ये दुई जनाको मात्र सनाखत भएको छ भने एक महिलाको अझै सम्म सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी मृत्यु हुनेमा पाल्पा निस्दी गाउँपालिका– ७ मित्यालकी ३६ वर्षीया हेम कुमारी सारु, सोही गाउँपालिका –४ की ४५ वर्षीया ओम कुमारी खाँम्चा रहेका छन् । अर्को एक जना महिलाको शव भने पहिचान हुन नसकेको सूचना अधिकारी चौधरीले जानकारी दिए । घाइते मध्ये ४ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
चितवन मेडिकल कलेजमा उपचार हुनेहरुमा गंभिर घाईते अवस्थामा रहेका निस्दी –४ की २८ वर्षीया मिना कुमारी सुनारी, हाल सम्म ठेगाना नखुलेका एउटै परिवारका ४१ वर्षका सुन्दर सुनार, उनको छोरा १० वर्षका लवित सुनार र छोरी ५ वर्षीया प्रिन्सा सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार हुनेहरुमा निस्दी –४ का ९ वर्षीय न्युराज खाम्चा, सोही ठाउँकै ५ वर्षीय सालिन खाम्चा, ७३ वर्षीय नर बहादुर सुनारी र ७२ वर्षीय भुमिसरा सुनारी रहेको प्रहरीले जनाएको छ । चिउरीबासमा उकालोमा यात्रु ओराल्दै गर्दा रोकिराखेको फोर्स जिप आफै व्याक भएर दुर्घटना भएको र जिप सडकबाट १२ सय मिटर तर खसेको थियो । सामान्य घाईते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।



