गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिकाले युवा पलायन रोक्न ‘मिसन रोजगारी’ कार्यक्रम सञ्चालन गरेको छ । युवाहरूको वैदेशिक पलायन र उद्यमीबीचमै पलायन हुने अवस्थाको अन्त्य गर्न सो कार्यक्रम ल्याइएको नगर प्रमुख खिलध्वज पन्थीले बताए । उनका अनुसार दायित्वको सहकार्यमा १ सय ८० दिनको परिणाम प्राप्त गरिसक्ने गरी उक्त कार्यक्रम तीन चरणमा सञ्चालन गरिुएको हो ।
नगर प्रमुख पन्थीले रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सबैको साझा उद्देश्य र बुझाइका कारण मिसन रोजगारी कार्यक्रम शुभारम्भ गरेको बताए । “युवा पलायन बढिरहेको छ, उद्यम सुरु गरेका उद्यमी पनि बीचमै पलायन हुने अवस्था छ,” उनले भने, “उद्यमीलाई साथ दिएर रोजगारी वृद्धि गर्न हामीले मिसन रोजगारी भित्र्याएका हौं । ”सबै उद्यमीलाई छुट्टाछुट्टै आवश्यकताअनुसार सहयोग गरेर रोजगारी बढाउने पनि नगर प्रमुख पन्थीले बताए ।
मंसिर १७ गतदेखि आवेदन आह्वान गरिएको छ । जसमध्ये ४० व्यावसायिक फर्म लाभान्वित हुनेछन् । ४० उद्यमीलाई सक्षमीकरण, त्यसैबाट छनोट २० उद्यमीलाई स्तरीकरण र त्यसैबाट छनोट १० उद्यमीलाई स्तरोन्नति गरिनेछ । उनीहरूलाई तालिम, ज्ञान, सीप र प्रविधि हस्तान्तरण गरिनेछ । जसबाट उद्यमीलाई अनुदानको भर मात्रै होइन, आफैं लगानी गर्न सक्ने खाले बनाउने योजना छ । दायित्वले पूरक साझेदारी गरी लगानी, उत्पादन, बजारीकरण र परिणाम लिनेगरी रोजगारी वृद्धि गर्न सहयोग गर्नेछ । प्रतिस्पर्धात्मक उद्यमी तयार गर्न ’मिसन रोजगारी’ १८० दिन चल्नेछ । बुधबारदेखि सुरु यो कार्यक्रममा अब गाउँ–गाउँका उद्यमीसँग भेटेरै कार्यक्रम हुनेछ ।


-1762576335.jpg)