लिङ्गका आधारमा गरिने हिंसा नै लैगिक हिंसा हो लिंगका आधारमा शारीरिक, भावनात्मक, सामाजिक, सांस्कृतिक, यौनिक र आर्थिक रूपमा लैंगिक हिंसा हुने गर्दछ । महिला, पुरुष वा अन्य लिंगी भएकै कारण हुने हिंसा हो, लैंगिक हिंसा । यो विश्वकै चुनौतीका रुपमा रहेको छ । लैंगिक हिंसाको कुरा गर्दा महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेको छ । यो हिंसा विभिन्न रूपमा देखा परेको छ । महिलालाई कुटपिट, जबरजस्ती, गर्भपतन गर्न लगाउनु, कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रूपमा घाउ, चोटपटक वा क्षति पुग्ने गरी गरिने हिंसा शारीरिक हिंसा हो । शारीरिक यातनाको डर, धाक, धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौज गर्ने, अपशब्द बोल्ने, अरूका अगाडि होच्याउने, तिरस्कार गर्ने, झुठा बात लगाउने, घरबाट निकाला गर्ने, इच्छाविपरीत काम गर्न लगाउने साथै वैचारिक, धार्मिक, सांस्कृतिक तथा परम्पराका आधारमा गरिने भेदभावलाई मानसिक हिंसाका रूपमा लिइएको छ ।
लैगिक हिंसा घरभित्र र सार्वजनिकस्थल गरी दुवै स्थानमा घट्ने गरेको पाइन्छ । प्रायःजसो लैगिक हिंसाका घटनाहरू घरमै हुने गरेका छन् । विद्यालयमा, विद्यालयबाट घर फर्कंदै गर्दा, गाईबस्तु चराउन जाँदा र कुनै घटना त अपहरण गरेर जंगलमा लगी बलात्कार गर्ने गरेको पनि पाइन्छ । महिलाले आफ्नो कार्यस्थलमा पनि हिंसा भोग्नु परेको हुन्छ । महिलाहरू आफन्त तथा घनिष्ट व्यक्तिहरू खासगरी आफ्नै श्रीमान्, सासू, ससुरा, परिवारका अन्य सदस्य र सहकर्मीबाटै हिंसाको खतरामा रहेका हुन्छन् । आजको एक्काइसौं शताब्दीमा पनि परापूर्वकालदेखि चलिआएका रुढिवादी सोच, गलत परम्परा, विभेदलगायतका कारण महिलाउपर हुने हिंसाको क्रम रोकिएको छैन । यही कुरालाई मध्यनजर राख्दै महिला समानता कायम राख्न र सबैखाले लैगिक हिंसा अन्त्यका लागि विश्वव्यापी रूपमा लैंगिक हिंसाविरुद्धको अभियान सञ्रुचालन गर्ने गरिन्छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमकासाथ लैगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ । यस वर्ष चलिरहेको छ । नेपाल सरकारको २०७५ कात्तिक १० गतेको निर्णय अनुसार हरेक वर्ष यो अभियान मनाउने गर्छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिलाई नेपालले सन् १९९१ मा अनुमोदन गरिसकेको छ । संयुक्त राष्ट्रसंघले यसै अभियानकै क्रममा सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको हत्या हुने गरेको छ । यो सबैका लागि चिन्ताको विषय हो । तसर्थ चुनौतीको रुपमा रहेको लैङ्गिक हिंसा अन्त्य गर्न सबै मिलेर सामाजिक जागरण ल्याउन जरुरी छ ।

