Shittalpati
दाङबाट विद्यार्थी भ्रमण आएको बस तानसेनमा दुर्घटना : ११ जना घाइते

पाल्पा,  दाङबाट विद्यार्थी लिएर भ्रमण आएको बस तानसेनमा दुर्घटना भएको छ । आज विहान दाङबाट आएको  ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका– १३ बैकुण्ठे भिर नजिकै दुर्घटना  भएको हो ।

बस दुर्घटनामा ११ जना घाइते भएका छन् । साधारण नमुना मा.वि. राजपुर दाङका  विद्यार्थी  पाल्पाको रानीमहल भ्रमणका लागि आएका थिए ।  बस  अचानक आफै अनियन्त्रित भई सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार घाइते हुनेहरुमा  दाङको राजपुर गाउँपालिका –४ का  ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका ११ का  २२  वर्षीय दामोदर रेउले, चालक घोराही उपमहानगरपालिका–१४ का ३५ वर्षीय सन्तोष ढकाल, राजपुर गाउँपालिका –५ की १२ वर्षीया सन्ध्या भण्डारी, सोही गाउँपालिका– ६ की  १८ वर्षीया दिल कुमारी रावत,  सोही ठाउँकी १०  वर्षीया सन्तोषी चौधरी, १९  वर्षीय अजय नेपाली रहेका छन् । 

यस्तै दुर्घटना राजपुर गाउँपालिका –५  की २३ वर्षीया सिर्जना यादव, १३ वर्षीय आयुष भण्डारी,  १५ वर्षीय अभिषेक यादव र घोराही उपमहानगरपालिका –९ का ३५ वर्षीय बसन्त योगी पनि  घाइते भएका प्रहरी नायव उपरीक्षक चौधरीले बताए । घाईतेहरुको उद्दार गरी उपचारको लागि  तानसेनस्थित युनायटेड मिसन अस्पताल पठाइएको छ । उनीहरुको  अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update