पाल्पा, जिल्लाको तानसेनमा मजदुरहरुको निःशुल्क मधुमेह परीक्षण गरिएको छ । लायन्स क्लब अफ पाल्पा विपना सित्तलपाटीले विश्व मधुमेह दिवसको अवसरमा तानसेन–६ बसपार्कमा ज्याला मजदुर र यातायात मजदुरहरुको मधुमेह परीक्षणसँगै सचेतना कार्यक्रम गरेको हो ।

संगम मेडिकल हलकी सञ्चालक कमला शर्माको प्रायोजनमा कार्यक्रम गरिएको क्लवले जनाएको छ । शर्माले आफ्नो जन्मदिनमा गर्ने खर्च कटौती गरेर मजदुरको स्वास्थ्य परीक्षणका लागि सहयोग गरेकी हुन् । जहाँ मजदुरसहित एक सय ८८ जनाको मधुमेह परीक्षण गरिएको क्लवका अध्यक्ष लायन रुक्मागत शर्माले जानकारी दिए । उनका अनुसार परीक्षणसँगै मधुमेहका बारेमा सचेतना समेत गराइएको छ । पछिल्लो समय सचेतना अभावका कारण मधुमेह चुनौतीको रुपमा देखा परेकाले विशेष गरी मजदुरवर्गमा यो कार्यक्रम गरिएको अध्यक्ष शर्माले बताए । “अस्तव्यस्त जीवनशैलीका कारण धेरैमा मधुमेह देखिने गरेको छ । यो अहिले चुनौतीको विषय नै भएको पाइन्छ । यसलाई केही हदसम्म भए पनि कम गर्न हामीले मजदुरवर्गमा पुगेर सचेतनासँगै परीक्षणको कार्यक्रम गरेका हौं” उनले भने “आफुलाई सुगर भएको छ भन्ने सम्म थाहा नहुँदा धेरैले अकालमै ज्यान गुमाएका छन्, कतिपयले आर्थिक अभावका कारण स्वास्थ्य परीक्षण नै गराउँदैनन् ।”

परीक्षणपछि सहभागीहरूलाई स्वास्थ्य सल्लाह, खानपान व्यवस्थापन, व्यायाम तथा जीवनशैली सुधारका उपायहरूबारे जानकारी गराइएको थियो । उनीहरुलाई युनाइटेड मिसन अस्पतालले तयार पारेको मधुमेह सम्बन्धी पर्चा समेत वितरण गरिएको क्लवले जनाएको छ । स्वास्थ्य परीक्षणको लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ पि एरिया २ का चिफ गंगाबहादुर खत्रीले एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका खत्रीले क्लवले स्वास्थ्य क्षेत्रमा देखाएको सक्रियता महत्वपूर्ण रहेको बताए । उनले क्लवको मूल्यमान्यतालाई आत्मसाथ गरी क्लवले काम गर्दै आएको उल्लेख गरे । मधुमेह नियन्त्रणका लागि जीवनशैली सुधार, नियमित व्यायाम, सन्तुलित आहार तथा मानसिक तनाव व्यवस्थापन अत्यावश्यक रहेको उनले धारणा व्यक्त गरे ।
कार्यक्रममा पश्चिम नेपाल बस ब्यावसायी प्रा.लि पाल्पा शाखाका प्रमुख डोलराज न्यौपाने, श्रीनगर यातायात प्रा.लि.का भविन्द्र गौतम, क्लवका कार्यक्रम संयोजक मधुराज पौडेल, द्वितीय उपाध्यक्ष जयप्रकाश उप्रेति, सह–सचिव मञ्जु पाण्डे, क्लवका विशिष्ट ब्यक्तित्वहरु मेघराज पौडेल,मणिप्रसाद खनाल, चिरञ्जिवी गौतम, अशोक घिमिरे, डुलबहादुर कुंवर, लक्ष्मण बहादुर रावल, मन हेमचुरी, नारायण न्यौपाने, सुन्दर शाही लगायतको समेत सहभागिता रहेको थियो ।


