पाल्पा, तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सुरु गर्ने तयारी गरेको छ । अस्पतालले १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा सुरु दिने तयारी थालेको हो ।
आगामी सातादेखि सेवा सञ्चालनमा ल्याउने योजना रहेको अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए ।
अस्पतालले स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै कार्डियक सेवा सहितको १६० स्लाइसको अत्याधुनिक सेवा सुरु गर्न लागेको उनको भनाई छ । भट्टराईका अनुसार सेवा सञ्चालनमा आएपछि यहाँका जनताले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउनेछन् । २४ सै घण्टा उपलब्ध हुनेगरी सिटिस्क्यान सेवा सुचारु गर्न लागिएको उनको भनाई छ । सिटी स्क्यान सेवा थप भएसँगै अस्पतालका सेवाग्राहीले उच्च गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको अस्पतालले जनाएको छ ।
वि.सं. २०११ सालमा स्थापना भएको अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । हाल अस्पतालमा २० जना विशेषज्ञ चिकित्सिक कार्यरत रहेको सूचना अधिकारी भट्टराईले जानकारी दिए । अस्पतालले मुटु सम्बन्धी विशेषज्ञ सेवा, मातृशिसु सेवा लगायत अन्य नियमित सेवालाई विस्तार गरेको छ । अस्पतालले गत साउनमा प्रसुती सेवा (सुत्केरी सेवा) तर्फ समेत सेवा विस्तार गरेको थियो । १६ बेड क्षमताको प्रसुती सेवा सञ्चालन गर्दै आएको अस्पतालले २० बेड र क्याविन समेतको सेवा विस्तार गरेको जनाएको छ । सिटि स्क्यान सेवा सञ्चालनको विशेष कार्यक्रम गरी शुभारम्भ गरिने तयारी रहेको अस्पताल प्रसासनले जानकारी दिएको छ ।


