पाल्पा, जिल्लाको तानसेन नगरपालिका – ६ मा जेष्ठ नागरिक संघ गठन भएको छ । संघको प्रथम भेलाले वडामा संघ गठन गरेको हो । जसको सभापतिमा उमानाथ न्यौपाने, उपसभापतिमा हरिमाया कार्की, सचिवमा कृष्ण चालिसे, कोषाध्यक्षमा मिलन कुमार शाक्य सर्वसम्मत रुपमा चयन भएका छन् । संघको सदस्यहरुमा सर्वेन्द्रमान बज्राचार्य, हरिप्रसाद गैरे, होमनाथ तिवारी, टिकाबहादुर विक, लक्ष्मण घिमिरे, भिमकुमारी शाक्य, भरत गन्धर्व, मोतिलाल पराजुली र किरण चित्रकार रहेका छन् ।
भेलाको जेष्ठ नागरिक संघ पाल्पाका सभापति देवराज ढकालले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका ढकालले २०६९ सालमा स्थापना भएको संघले जिल्लामा जेष्ठ नागरिकहरुको हकहित र अधिकारका विषयमा सक्रिय भएर काम गर्दै आएको बताए । उनले संघलाई थप बलियो र सबै जेष्ठ नागरिकलाई समाहित गर्ने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहमा वडा तहबाट समिति गठन गर्ने कार्यलाई तिव्रता दिएको उल्लेख गरे । सभापति ढकालले हालसम्म रामपुर नगरपालिकाका सबै वडा र तानसेनका केही वडाहरुमा संघ गठन भइसकेको भन्दै छिट्टै नै सबै पालिका र वडा तहमा संघ गठन हुने बताए । उनले भने “उमेर ढल्कदै जाँदा जेष्ठ नागरिक सबैबाट अपहेलित हुँदै जाने गरेका छन् । उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्ने वातावरण बनाउन हामी लागि परेका छौं । अब सबै वडा वडामा संघ गठन गरेर जेष्ठ नागरिकलाई एकत्रित गर्ने छौं ।”
तानसेन – ६ का वडा अध्यक्ष सागरमान महर्जनले सरकारलले गर्नु पर्ने काम संघले गर्दै आएकोमा खुसी व्यक्त गरे । उनले संघले वडा कार्यालयसँग समन्वय गरेर समिति गठन गरेकोमा धन्यवाद दिर्दै भोलीका दिनमा वडाबाट आवश्यक सहयोग गर्ने र संघसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । संघको वडा सभापतिमा चयन भएसँगै न्यौपानेले समय ढल्दै गए पछि जेष्ठ नागरिकहरुले भोग्दै आएको पीडालाई कम गरी मानविय जीवन व्यतित गर्नेतर्फ वडा कार्यसमिति सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए ।
वडा अध्यक्ष महर्जनको अध्यक्षता, संघका जिल्ला सदस्य जुद्धबहादुर थापाको स्वागत, वडा सचिव विशाल ओलीको सञ्चालनमा कार्यक्रम भएको थियो ।


