
हिन्दू धर्मावलम्बीहरुको अर्को महान पर्व बडादशैं सकिएको लगभग दुई सातापछि नै आउने तिहारको पहिलो दिन आज यमराजको दूत कागको पूजा गरि मनाइँदै छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । अझै पनि गाँउ–घरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ । कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ ।
धर्मशास्त्र अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ । काँ काँ गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश बोकेर ल्याउने जनश्रुति रहेको छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआँगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस् भनेर कामना गरिन्छ । त्यस्तै प्रकृतिको लागि पनि काग एउटा नभई नहुने पन्छी हो । यसले हाम्रो ‘इकोसिस्टम’मा पनि ठूलो योगदान दिन्छ । हामीले लगाएको बालीनालीलाई हानी गर्ने किरा फट्याङ्ग्राहरुलाई खाइदिएर कागले अन्न उत्पादन बढाउन सहयोग गर्छ । यसर्थ काग तिहारको प्राकृतिक तथा धार्मिक रुपमा महत्वपूर्ण भूमिका रहेको छ ।