
पाल्पा, जिल्लाका स्वास्थ्य संस्थाहरु कार्यक्रमको वार्षिक समीक्षा गर्दै कार्ययोजनामा जुटेका छन् । विहिबारदेखि जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालित कार्यक्रमहरुको समीक्षा गर्दै चालु आर्थिक वर्षको कार्ययोजनामा जुटेका हुन् ।
कार्यालय अन्तरगत सञ्चालन भएका विभिन्न कार्यक्रमको प्रभावकारिता र चालु आर्थिक बर्षको योजना बनाउने उद्देश्यसहित दुई दिने समीक्षा गोष्ठि तानसेनमा सञ्चालन भएको हो । गोष्ठीको लुम्बिनी प्रदेशका सांसद् तथा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु श्रेष्ठले उद्घाटन गरेका हुन् । गोष्ठीको उद्घाटन गर्दै सांसद श्रेष्ठले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर बन्न जिल्लाका स्वास्थ्य संस्थाहरुलाई आग्रह गरे । उनले स्वास्थ्यका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाई लैजानु अहिलेको आवश्यकता रहेको आल्याए । देश विकासका लागि स्वस्थ्य महत्वपूर्ण रहेको समेत सांसद श्रेष्ठले बताए । उनले भने “मानिस शारिरीक र मानसिक रुपमा स्वस्थ भए मात्र देशको विकास र समृद्धि हासिल हुन्छ ।” विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सांसद् तथा पूर्व मन्त्री विरबहादुर रानाले नसर्ने रोग अहिले चुनौतिका रुपमा देखा परेकाले त्यसलाई दिर्घकाली योजना बनाएर काम गर्न स्वास्थ्य संस्थाहरुलाई आग्रह गरे । उनले खानपान र अस्तव्यस्त जीवनशैलीका कारण नसर्ने रोगले आमनागरिक ग्रसित बन्नु परेको भन्दै त्यसतर्फ सचेतनाका कार्यक्रमहरुलाई समेत तिव्रता दिनुपर्नेमा जोड दिए ।
सांसद रानाले अब नसर्ने रोग नियन्त्रणका लागि बहससँगै अभियान चलाउन सरोकारवाला निकायहरु जाग्न जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुंवर, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने लगायतले स्वास्थ्यका क्षेत्रमा गम्भीर भएर काम गर्न स्वास्थ्य संस्थाहरुलाई आग्रह गरे । कार्यक्रममा कार्यालय अन्तर्गतका १० वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधिको सहभागिता रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखा, पाल्पा र रामपुर अस्पताल, २ वटा प्राथमिक उपचार केन्द्र, मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, जिल्ला आर्युवेर्दिक अस्पताल, जिल्ला लायन्स लाकौल आँखा अस्पताल, नेपाल परिवार नियोजन संघ पाल्पा र लुम्बिनी प्रदेश सरकारको सहभागितामा वार्षिक समीक्षा गर्दै आगामी रणनीति तथा कार्ययोजना निर्माण गर्न थालिएको हो । विहिबार तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपाने, तिानाउ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्की, रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राना, बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारी, रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी, माथागढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशवबहादुर जिसी, रामपुर नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत गिरीराज घिमिरे, निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिसा, पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शखा प्रमुख मोहन ढकाल र रम्भा गाउँपालिका स्वास्थ्य शखा प्रमुख शिव प्रसाद अर्यालले वार्षिक कार्यप्रगती तथा सुधार गर्नुपर्ने कामहरुको बारेमा जानकारी गराएका थिए । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तथा वरिष्ठ तथ्याड्ढ अधिकृत टुकप्रसाद पोखरेलले जिल्लाको समग्र स्वास्थ्यको अवस्था बारे जानकारी गराएका थिए । गोष्ठी शुक्रबारसम्म चल्ने छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलको अध्यक्षता, कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेको स्वागत, शान्ति भण्डारीको सञ्चालनमा पहिलो दिनको कार्यक्रम भएको थियो ।