
नेपालमा राजनीतिक अस्थिरता केवल नेताको चरित्र वा दलको कमजोरीको परिणाम होइन, यो हाम्रो राजनीतिक संस्कृति, सोच र व्यवहारको गहिरो रोग हो । संविधानको सात वर्षपछि पनि स्थायित्वको अनुभूति गर्न नसक्नु, सरकारको पटक–पटक परिवर्तन, गठबन्धनको केन्द्रित राजनीति यस रोगका लक्षण हुन् । प्रश्न उठ्छ — अब यो अन्त्य कसरी सम्भव छ ? राजनीतिक स्थायित्वका लागि दलहरूको आन्तरिक लोकतन्त्र सुनिश्चित गर्नैपर्छ । दलभित्र निर्णय केही व्यक्तिहरूमा सीमित हुँदा योग्य र निष्ठावान कार्यकर्ताको मूल्यांकन हुन सकेको छैन् । आन्तरिक निर्वाचन प्रणाली बलियो नहुँदा असन्तुष्टि बढेको छ, जुन अस्थिरताको प्रमुख कारण हो । जनताले नीतिगत राजनीतिलाई प्राथमिकता दिनुपर्ने बेला आएको छ । जात, धर्म, क्षेत्र वा व्यक्तिगत लाभमा आधारित मतको संस्कृति बदल्न सकेनौं भने अस्थिरता कहिल्यै अन्त्य हुँदैन् । मतदाताले नीति, दृष्टिकोण र दीर्घकालीन प्रतिवद्धताका आधारमा नेतृत्व रोज्न थाले अस्थिरता स्वतः घट्छ । गलतलाई गलत र सहीलाई सही भन्ने मानसिकताको विकास नहुँदासम्म मुलुकले स्थिरताको बाटो पहल्यिाउँन सक्दैन् भन्ने कुरा सबैमा चेतना हुन जरुरी छ ।
सत्ता कसको हो को सत्तामा जान्छ त्यो गौण विषय हो । मुलुकले विकास खोजेको छ । अस्थिरता होइन, स्थिरता खोजेको छ । जनताका आम समस्या समाधान गर्नुपर्ने अहिलेको आवश्यकता हो । तर हिजो सत्तामा भएकाहरू बाहिरिने र सत्ता बाहिर भएकाहरू सत्तामा जाने कामले निरन्तरता पाउनेबाहेक मुलुकले केही पाउन सकेको छैन । अहिलेको आवश्यकता भनेको विकास र समृद्धि हो । आम जनताले यही चाहेका छन् । जनता र देशको हितमा राजनीतिक गर्ने हो भने यस दिशामा राजनीतिक दलहरुले गम्भीर भएर सोच्न जरुरी छ । राज्यका संस्थाहरू स्वतन्त्र र सक्षम हुनुपर्छ । न्यायालय, निर्वाचन आयोग र अख्तियार जस्ता संवैधानिक निकायहरू दलको प्रभावबाट मुक्त रहँदा मात्रै शासनमा उत्तरदायित्व सुनिश्चित हुन्छ । स्थायित्वको मुटु भनेको “विश्वास” हो — जनताको विश्वास नेतामाथि र नेताको विश्वास प्रणालीमाथि । जब नेतृत्वले स्वार्थभन्दा राष्ट्रलाई अगाडि राख्छ, तब मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ । अहिले समय आएको छ— नेपालले साँचो अर्थमा नीति, नैतिकता र निष्ठाको राजनीतिलाई पुनर्जीवित गर्न । यहीबाट राजनीतिक अस्थिरताको अन्त्यको यात्रा सुरु हुनेछ ।