Shittalpati
बढ्यो दसैंको चहलपहल

पाल्पा, बडादसैं सुरु भएसँगै पाल्पासहित देशैभरका विभिन्न शहरमा चहलपहल बढेको छ । बजारमा लत्ता कपडादेखि खाद्यान्नसम्मका सामग्री खरिद गर्नेको भीड बढेको हो ।

पाल्पाका विभिन्न बजारका पसलसँगै बैंकहरूमा समेत ग्राहकको भीड लागेको छ । बजारका व्यवसायीलाई यतिबेला ग्राहकलाई सामान देखाउन फुर्सद छैन । तानसेनको बसपार्क, मखनटोल, सिल्खानटोल, विशालबजार, शीतलपाटी, नारायणस्थानमा किनमेल गर्नेको भीड छ । उता रामपुरका बजारमा समेत मानिसहरुको चहलपहल बढ्दो छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. पाल्पाका शाखा प्रबन्धक विष्णु भण्डारीले दसैं सुरु भएपछि बैंकमा भीड बढेको बताए । बजारका व्यवसायीलाई यतिबेला फुर्सद छैन । “दसैं सुरु भएको भन्ने बजारमा बढेको भीडले देखाउँछ,” तानसेनका राजेन्द्र गोपाल सिंहले भने, “केही दिनदेखि तानसेनमा चहलपहल बढेको छ ।” बजारमा भिडभाड बढे पनि सोचेजस्तो व्यापार नभएको व्यापारीहरू बताउँछन् । मानिसहरु आएर सामान हेर्ने तर नकिनिदिने गरेको स्थानीय फेन्सी व्यापारी मनिष बज्रचार्यले बताए । उनको पसलमा पुग्दा महिलाहरु कपडाहरु हेर्दे थिए । आधा घण्टा समय लगाएर उनीहरुले कपडा हेरे तर मूल्य बढी भयो भन्दै न लिई फर्किए । “मान्छेहरूको चहलपहल जस्तो त देखिन्छ, तर व्यापार सोचेजस्तो छैन” उनले भने, “मान्छेहरू आउँछन् र हेरेर जान्छन् । किन्ने त आधा पनि छैनन् ।” ग्राहकहरु पसलमा पुगे पनि  सामान महँगो हुँदा भाउ सोध्ने र सामान नलिई फर्कने गरेका छन् ।

जिल्लामा दसैंको मुखैमा दैनिक उपभोग्य सामग्रीको मूल्य आकासिदा उपभोक्ता समस्यामा परेका छन् । व्यापारीहरूले सदरमुकाम र ग्रामीण भेकमा चाडपर्वको सुरुवातसँगै सामानको मूल्य बढाएका हुन् । व्यापारीले भने बुटवल, भैरहवा र उद्योगबाटै सामान महँगो भएर आएको भन्दै बजारमा सामानको अभाग भएको बताएका छन् । उपभोक्ताले खाद्यान्न, लत्ता कपडा जस्ता दसैंलक्षित सामग्री पहिलेको मूल्यमा पाउनै छाडेको बताएका छन् । रिब्दीकोटकी शर्मिला थापाले बजारमा जता गए पनि समान महँगो मात्र रहेको बताईन् । अघिल्ला वर्षमा भन्दा यसवर्ष सामानको मूल्य अत्याधिक बढेको उनको भनाई छ । “प्रत्येक पसलमा सोध्दै हिड्यो सबै सामानको भाउ बढेको बढ्यैछ,” थापाले थपिन्, “दसैंका लागि सामान किन्न आएको तर सामान लैजाउँ कि नलैजाउँ ? लैजाउ सामानको मूल्य छोइन नसक्नु छ, अड्कलेर ल्याएको पैसाले पुग्दैन, नलैजाउ भने दसैंका लागि नभई भएन ।”

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update