
पाल्पा, जिल्लाको बगनासकाली बहुउद्देश्यी सहकारी संस्था लि. ले ७ औं साधारण सभा मनाएको छ। सहकारीले सोमबार बगनासकालीस्थित आफ्नै भवनमा एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
सभाको जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष भूपति पाण्डेयले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेयले पाल्पाका सहकारीहरुमा कुनै पनि समस्या नभएकाले ढुक्क भएर कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गरेका छन् । उनले कर्मचारीहरुको बदमासीका कारण केही सहकारीमा समस्या देखिएको भए पनि पाल्पाको हकमा त्यस्तो नरहेको स्पष्ट पारे । अध्यक्ष पाण्डेयले बाहिर जस्तो भए पनि सहकारीहरुमा त्यस्तो नरहेको बताए । कार्यक्रममा बगनासकाली गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष मोतिलाल बस्याल, वडा नं. ९ का वडा अध्यक्ष ठानेश्वर तिमिल्सेना, घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ उद्योग अधिकृत केशव सुनार, चन्द्र माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लिला अर्याल, सहकारीका सल्लाहकार गणेशप्रसाद बस्याल, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, जेष्ठ नागरिक टीकाराम बस्याल, शेयर सदस्यहरु मनिषा बस्याल, नारायण तिमिल्सेना लगायतले सहकारीले कृषि, पशु, शिक्षा, स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सहकारी अगाडि बढेको बताए । उनले आफुहरु इमान्दारिताका साथ काम गर्दै आएकाले सहकारीमा कुनै पनि समस्या नभएको स्पष्ट पारे । उनले भने “हामी सहकारीको मूल्यमान्यता, सिद्धान्त र उद्देश्य अनुसार नै काम गरेका छौं, प्रत्येक वर्ष शेयर सदस्यहरु पनि थपिदै जानु भएको छ । ढुक्क भएर कारोबार गर्नुहोस् हाम्रोमा कुनै समस्या छैन ।” अध्यक्ष भुसालले सहकारीलाई प्रविधिमैत्री बनाउदै लगिएको पनि बताए । उनले दुध उत्पादन, बजारिकरण, परम्परागत कृषिलाई आधुनिकरण गर्ने दिशामा सहकारीले काम गरेको उल्लेख गरे । उनका अनुसार सहकारीमा १ हजार ४ सय ७१ जना शेयर सदस्य रहेका छन् । सहकारीले खुल्ला सत्रमै शेयर सदस्यहरुबाट राय, सुझाव र जिज्ञासा मागेको थियो । जसमा शेयर सदस्यहरु चुनिकला विक, ज्योतिलाल घिमिरे, नेत्र बस्याल, हरिकला ज्ञवाली, सिता घिमिरे लगायतले स्थानीय स्तरमै उत्पादन भएको घाँस खरिद गर्नुपर्ने, यहाँ उत्पादित दूध यही खपत गर्ने व्यवस्था मिलाउनुपर्ने, साधारण सभाको जानकारी सामाजिक सञ्जालबाट नभई प्रत्येक सदस्यलाई चिठ्ठीमार्फत हुनुपर्ने लगायतका सुझाव राखेका थिए ।
सोही अवसरमा सहकारीले जेष्ठ नागरिक, असल बचतकर्ता, असल ऋणी,बढी दूध , तरकारी उत्पादन गर्ने कृषक, पूर्व कार्यसमिति, पूर्व व्यवस्थापकलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा लेखा सुपरिवेक्षक समितिका संयोजक रविलाल तिमिल्सेनाले लेखासुपरिवेक्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ताराप्रसाद घिमिरेको स्वागत, सचिव कमलराज तिमिल्सेनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।