Shittalpati
आनन्द सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा सरोजराल शाक्य

पाल्पा, आनन्द बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व आएको छ । सहकारीको शनिबार तानसेनमा भएको १५ औं वार्षिक साधारण सभा  तथा ५ औं अधिवेशनले हालका उपाध्यक्ष सरोजलाल शाक्यको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । 

लामो समय सहकारी अभियानमा लागेर सहकारीको वृद्धि विकाससँगै जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुको साथै संस्थामा इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरेका कारण अधिवेशनले शाक्यलाई अध्यक्षको जिम्मेवारी सम्पिदिएको हो । अध्यक्षको जिम्मेवारी पाएसँगै नवनिर्वाचित अध्यक्ष शाक्यले सहकारीलाई थप मजबूद बनाउनुको साथै सदस्यहरुको हितमा रहेर काम  गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आनन्द सहकारीमा कुनै पनि समस्या नभएकाले ढुक्क भएर कारोबार गर्न समेत शेयर सदस्यहरुलाई आग्रह गरे ।

अधिवेशनले सहकारीको उपाध्यक्षमा रत्नमान बज्राचार्य, सचिवमा विनयराज बज्राचार्य, कोषाध्यक्षमा मनिषलाल बज्राचार्य, सह–सचिवमा अनुराधा बज्राचार्यलाई चयन गरेको छ । यस्तै सञ्चालक समिति सदस्यहरुमा सर्जुलाल बज्राचार्य, पुतली शाक्य, दिनेश बहादुर बज्राचार्य, अनुपमा शाक्य बुद्धाचार्य, लेखा सुपरिपेक्षण समिति संयोजकमा नारायणबहादुर बज्राचार्य, लेखा सुपरिपेक्षण समिति सदस्यहरुमा शोभामान बज्राचार्य, जीवनमान बज्राचार्यलाई चयन गरेको सहकारीका व्यवस्थापक प्रकाश शर्माले शितलपार्टीलाई बताए । यस्तै साधारण सभामा सहकारीका अध्यक्ष सर्जुलाल बज्राचार्यले प्रस्तुुत गरेका विभिन्न १५ बुँदामा रहेका प्रस्तावहरु सभाले सर्वसम्वत रुपमा पारित गरेको छ । अध्यक्ष बज्राचार्यले हितकोष सञ्चालन नियमावली, निर्वाचन कार्यविधि अनुमोदन, संस्थाको कर्मचारी प्रशासन नियमावली, सदस्यता नीति, बचत नीति र ऋण नीति पुनर्लेखन तथा संस्थालाई आवश्यक पर्ने सम्पत्ति शुद्धिकरण कार्यबिधि, बैठक सञ्चालन कार्यविधि, आर्थिक प्रशासन नीति, कर्मचारी सेवा नीति, कागज धुल्याउने कार्यविधि, साधारण सभा सञ्चालन कार्यविधि, धितो लिलाम बिक्रि कार्यविधि जस्ता कार्यविधि, नियमावली, नीतिहरु बनाउन सञ्चालक समितिलाई जिम्मेवारी दिने, २०८१ श्रावणदेखि २०८२ आषाढ मसान्तसम्म सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमितिले गरेका निर्णयहरु अनुमोदन, शेयर लाभांश कोष, संरक्षित पूँजी कोष र कर्मचारी बोनस कोष बाँडफाँड, सञ्चालक समितिलाई समय सापेक्ष व्याजदर परिमार्जन गर्न सक्ने अधिकार प्रत्यायोजन, आ.व. २०८२/८३ को वाह्य लेखा परिक्षक नियुक्ति, पारिश्रमिक, निष्क्रिय शेयर सदस्यहरुको सदस्यता नरहने गरि बचत तथा शेयर रकम भुक्तानी दिनुपर्ने हिसाबमा जम्मा गर्ने, खराब ऋणीहरुबाट एकैपटक कर्जा चुक्ता गर्न आएमा केही व्याज, हर्जाना लगायत अन्य रकमहरुमा केही छुट दिन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने, अध्यक्षको प्रतिवेदन,सचिवको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, ऋण उप–समितिको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, आ.व. २०८१/८२ अनुमानित बजेटको खर्च शिर्षक भन्दा बढि खर्च भएको खर्चको शिर्षकमा रकमान्तर गरिएको अनुमोदन  लगायतका प्रस्तावहरु  अगाडि सारेका थिए । उक्त प्रस्ताव सर्वसम्वत रुपमा पारित गरिएको हो ।  सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्धिको दिशामा आफुहरु अगाडि बढेको संस्थाका अध्यक्ष बज्राचार्यले बताए । उनले भने “सहकारीको माध्यमबाट सदस्यहरु बिच आत्मीयता, सद्भाव, र एक आपसमा मैत्री भावको विकास गर्दै सदस्यहरुको आर्थिक उन्नति र व्यवसायिक बनाउने दिशामा हामीहरु अग्रसर रहेका छौं ।”

साधारण सभाको सहकारीका सल्लाहकार छत्रराज शाक्यले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि शाक्यले सहकारीले छोटो समयमै समृद्धिको दिशामा फड्को मार्न सफल भएको बताए । उनले संस्थालाई दीगो र प्रभावकारी बनाउन समर्पण, प्रतिवद्धता र पारदर्शी हुनुपर्नेमा जोड दिए । शाक्यले सहकारीहरु अब एक जुट भएर अगाडि बढ्ने बेला आएको धारणा व्यक्त गरे ।  नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले आनन्द सहकारी वित्तिय क्षेत्रमा अब्बल बन्दै गएको भन्दै यस सहकारीमा कुनै समस्या नभएको बताए । उनले भने “ म यस सहकारीसँग विगत चार/पाँच वर्षदेखि निरन्तर नजिकबाट चिन्ने र यसका गतिविधिहरु नियाल्ने अवसर पाएको छु, यस सहकारीका सञ्चालकहरु आफैमा इमान्दार, बौद्धिकशील व्यक्तिहरु भएकाले यहाँ कुनै समस्या छैन, ढुक्क भएर रकम बचत गर्न सकिन्छ ।”  शेयर सदस्य सकुन्तला बज्राचार्यले उत्कृष्ट सहकारीको रुपमा आनन्द  सहकारी स्थापित हुन सफल भएको बताइन् । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा ऋण उपसमितिका संयोजक सरोजलाल शाक्यले ऋण उपसमितिको प्रतिवेदन, सचिव रत्नमान बज्राचार्यले सचिवको प्रतिवेदन, कोषाध्यक्ष विनयराज बज्राचार्यले आयव्यय, लेखा समितिका संयोजक शोभामान बज्राचार्यले लेखा समितिको प्रतिवेदन  प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले  जेष्ठ शेयर सदस्य, बालबचतकर्ता,  असल बचतकर्ता, असल कारोबारकर्ता , शेयर सदस्यहरुका छोरा छोरी मध्ये एसइईमा उत्कृष्ट अंक ल्याई उर्तिण हुने   विद्यार्थीहरुलाई सम्मान समेत गरेको छ । सभाको उद्घाटन सत्र संस्थाका अध्यक्ष सर्जुलाल बज्राचार्यको अध्यक्षता, उपाध्यक्ष सरोजलाल शाक्यको धन्यवाद ज्ञापन, सचिव रत्मान बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update