Shittalpati
आज विश्वकर्मा पूजा गरिदैँ  

पाल्पा,आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा र·ीच·ी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गर्न लागिएको छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाइएको छ । गाडी मर्मत सम्भार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फयाक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ ।

पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । आज पूजा गरिएको मूर्तिलाई भोलि बिहान नजिकैको खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ । फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाई आजका दिन बिदा पनि दिने चलन छ । विगतमा विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ विश्वकर्मा पूजा गरिने गरेकामा पछिल्ला केही वर्ष यता पहाडी जिल्लामा पनि यसको गरिमा र महत्व बढ्दै गएको छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुन्द्रको बीचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुन्द्रको बीचमा ‘भेदद्वार’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो । प्राचिन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ ।  विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । यही सम्झनामा कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update