
पाल्पा, पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालय ७५ वर्षको यात्रामा प्रवेश गरेको छ । कन्याहरुलाई व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी स्थापना भएको स्कूलले ७५ वर्षको बुढ्यौली यात्रा तय गरेको हो ।
७५ वर्षको अवसरमा विद्यालयले आज भव्य रुपमा हिरक महोत्सव मनाउँदै छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको विद्यालयले जनाएको छ । महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने काम रहेको विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले बताए । उनका अनुसार विभिन्न कार्यक्रमका साथ हिरक महोत्सव मनाउन लागिएको हो । विद्यालयले यस अघि विभिन्न कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । नेपाली समाजमा छोरीहरुलाई शिक्षा प्राप्त गर्न कठिन र चुनौती रहेका बेला २००७ सालमा विद्यालयले कन्याहरुका लागि छुट्टै छात्रावासको व्यवस्था गरी अध्ययन, अध्यापन गराउँदै आएको छ । यो यात्रामा विद्यालयले आफुलाई नेपालकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । त्यसबेला धेरैले विश्वास नगरेको विषय थियो पाल्पामा कन्याहरुका लागि स्थापित स्कुल ७५ वर्षसम्म खडा हुनेछ तर धेरैको आकलनलाई गलत सावित गर्दै मोहन कन्याले आफ्नो ७४ वर्षे यात्रा पार गर्न सफल भएको छ । पश्चिम क्षेत्रमै तल्कालिन समयमा पढ्न चाहने छोरीहरुका लागि छुट्टै विद्यालयहरु थिएनन् । निजी र सामुदायिक शैक्षिक संस्थाका रुपमा सीमित स्कुलहरु त खुलेका थिए, तर तिनले छोरीहरुलाई शिक्षाको पहुँचमा ल्याउन सकेका थिएनन् । त्यही परिवेशमा २००७ सालमा स्थापना भएको मोहन कन्यालाई कन्याहरुका लागि शैक्षिक विकासको आधारशिला मान्न सकिन्छ । स्कूलतहदेखि कक्षा ११÷१२ मा शिक्षा, व्यवस्थापन र कम्प्युटर इञ्जिनियरि· संकायको शैक्षिक कार्यक्रम विकासमा यस स्कुलको ठूलो योगदान रÞयो । सात दशक लामो यात्रामा मोहन कन्याले विद्यार्थीहरुलाई छात्रावासको व्यवस्थासँगै प्राविधिक शिक्षा पढ्न चाहानेका लागि वातावरण समेत सिर्जना गरिदिएको छ । सरकारीस्तरबाट होस् वा राजनीतिक स्तरबाट नै किन नहोस् उपेक्षामा परेका कयौं शैक्षिक संस्थाहरु धरासयी हुँदै गएको अवस्थामा मोहन कन्याले ७५ औं वार्षिक उत्सव मनाउनुलाई कम आकलन गर्न सकिदैन ।
हिरक महोत्सवको अवसरमा भदौ १५ गते पुर्व विद्यार्थी पुर्नमिलन कार्यक्रम गरेको छ । विद्यालयमा हाल ३ सय भन्दा बढी विद्यार्थी अध्यनरत रहेका छन् भने कक्षा ९ देखी १२ सम्म १ सय ४० जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । विद्यालयले अधिकाश विद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराएको, पठन–पाठनमा कुनै किसिमको शुल्क नलाग्ने, पहिलो पटक भर्न हुने विद्यार्थीलाई विद्यालय पोशाक निःशुल्क उपलब्ध गराउने, कक्षा ८ सम्म निःशुल्क रुपमा दिवा खाजाको व्यवस्था, कम्प्युटर विज्ञानमा ओजीटी गर्दा छाबृत्तिको व्यवस्था लगायतका सुविधाहरु पाउने विद्यालयका प्रधानाध्यापक ज्ञवालीले बताए । विद्यालयले आगामी दिनमा विद्यालय नर्स कार्यक्रम सञ्चालनको लागि आवश्यक तयारीमा जुटेको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठले बताए । हिरक महोत्सवलाई उत्सवका रुपमा मनाउन लागिएको महोत्सवका सञ्चार एवं प्रचार प्रसार समितिका संयोजक गोपाल बस्यालले बताए ।