
जगन्नाथ पन्त
लेख्ने रुचि र जाँगर नचलेर छ, आठ महिना लेखिन । अरुले लेखेका पढ्दा ति पो लेख, मैले लेख्नै जानेको छैन् भन्ने पनि लागि रर्यो । तर पनि सोचे अरुले रुचाए नि नरुचाए पनि आफुले आफुलाई रुचाए भयो नि । आफैसँग प्रसन्न हुनु सङ्गति रहेछ । अरुले गर्दा प्रसन्न हुँला भनेर सोच्नु विसङ्गति रहेछ । दुनियाँदारीबाट प्रसन्नताको आशा गर्नु असङ्गति रहेछ । असङ्गतिले थिलथिलो भएर प्रसन्नता खोज्नु काशीजानु कुतीको बाटो रहेछ । संग, साथ, संगत,ओैचित्य, संगत हुनुको भाव, मेलमिलाप,सुहाउँदो सबै सङ्गति हो । वेमेल, अनौचित्य, सामञ्जस्य नहुनुको अवस्था, नमिल्दोपन, असङ्गति विसङ्गति हो । एउटा विचार जो स्वअवधारणाको मौलिक तत्वका साथ संघर्ष गर्छ, जुन असङ्गतिको एउटा महत्वपूर्ण कारण हुन पुग्छ । जस्तो कि म एउटा गतिलो व्यक्ति हूं, मैले लिएको निर्णय सहि छ, त्यसैमा ममा एउटा चिन्ता रहन्छ कि खराव निर्णय लिन जाने संभावना पनि त थियो नि । यस्तै अतिरिक्त कारण वनाउने प्रबृत्ति गर्छ, आफ्नो गराईलाई मन पराउदै समर्थन गर्छ, उचित ठहर्याउदै मन बुझाउँछ । यस्तै युक्ति, उपाय निकाल्छ असङ्गतिले । पर्वदेखि धर्म संम, कर्मदेखि मर्म सम्मका चर्चा गर्ने रहर लाग्यो अनि पर्व शुरु भएको मानिने नागपञ्चमी प्रसङ्गबाट शुरु गर्ने जमर्को गरे ।
नाग पञ्चमी देखी ऋषि पञ्चमी सम्म बीचमा जानैपुर्ने र तिज सबै सङ्गति र असङ्गतिले परिवेष्टित हुँदै आएका छन् । घरघरका मुख्य द्वारमा नागका चित्र टासियो, चित्रमा कोरेका नागलाई पुजियो, साच्चैका नागले कतिलाई डसेर ईहलिला सकियो । कतिका लाठीले नागका पनि लिला सकियो । नपुजी पनि रहन नसकिने, पुजेर पनि सहन नसकिने कस्तो सङ्गति– असङ्गति । जनैपुर्नेका दिन बिहान जनै घाँटीमा रात परे पछि जनै कांटीमा । यज्ञो पवित संस्कारको ओैचित्य कि सकियो भन्न पर्यो कित उपयोगिता, नियम, अस्तित्व कायम राख्नु पर्यो । जसले पायो भिर्यो, जसलाई पायो भिरायो जिम्मेवारी कसले लिेने । नेवार जातिमा आफन्तको निधन भएकामा मृतात्माको चिरशान्तिको कामना र शोकमा रहेकालाई हसाइ शोकमुक्त गर्न मनाइने पर्व हो गाईजात्रा । गाईजात्राको हास्यपक्ष सरकार, संसदमा समेत सदैब देख्न, सुन्न सकिने हुँदा चर्चा गरिरहनु परेन । गाईजात्राको प्रहसन नै लजाउने गरि हुने हर्कतका विसङ्गति चर्चा गर्नु व्यर्थ छ । हरितालिकालाई हरिविजोग, हरिकल वनाइएको कसैले रुचाएका छैनन् । तर असङ्गति रोक्ने हिम्मत कसैले गर्न पनि सकेका छैनन् । तिजका दिन निराहार ब्रत वसी नाचगान गर्न शक्ति मिलोस् भनेर अघिल्लो रात दह्रो खानपिन – चिल्लो भात, मकैबोडिमा तामा मिसाएर वनाईएको पोषिलो तरकारी । दुध घोटेर वाक्लो वनाई द्वितीयाका रात पिउने खवा वा खाने खिर पो दर थियो । अनि पो शुद्ध ब्रत हुन्थो । गोठ भरी लैना, बकेर्ना, धनसारभरी धान, हर्पेभरी घीऊ, चौठिका चौठि तेल हुँदा पनि सेतो, सिता र चिल्लो बुहारीले नपाउने अवस्थालाई माईती गएर दर खानुको महत्व थियो । आजकल त कैयौ दिन पहिले देखि पिकनिकमा जस्तै मासु, पुलाउ, अझ कसैको त वाइन पनि रे । यस्तो सधैको दर हो कि तीजको महिना आउन थाल्यो भनेर श्रीमानलाई डर हो । अझ ज्वाई, संधी, ससुरा पनि दर खाने निम्तालु कस्तो असङ्गति । भगवति माता पार्वती शिवजीसँग कति चिन्ता गर्दिहुन, शिवजीले यस्तालाई केको बरदान देलान् , यस्ताका आयू कति बृद्धि हुँदा हुन । एउटाले ब्रत गरेर अर्कालाई लाभ हुने पनि त होइन । बिधी पूर्वक ब्रत गरेको भए पनि सोको फल गर्नेलाई मात्र हुन्छ । तिजको ब्रतले महामाया भगवती प्रसन्न हुने भनेको ब्रत बस्ने महिला सँग हो । मेरा लागि पत्नीले ब्रत गरिन म स्वस्थ, सम्पन्न र दिर्घजीवि हुने भए भनेर कुनै पति मख्ख नपरेकै जाति । तिजको दिन पतिले पाउने लाभ भनेको दशौ हजारका साडि, श्रृङ्गरका सेट, दुईलाख तोलाका सुन किनिदिन, फेरिदिन नसके पनि त्यस दिन पत्नीको ब्रत नसकिदा सम्म अवगाल नखानु हो । किनकी ब्रत नै पतिका लागि त हो । ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्त ऋषिको पुजा गर्नाले महिलालाई परेको दोष मेटिने र प्रायश्चित्त भै लाभ मिल्ने विश्वास गरिदै आइएको छ । अरुन्धती बाहेक अरु ऋषि पत्नी महादेवका पछि लागेकाले गर्दा अरुन्धतीको मात्र पुजा गरिने र मनुष्य ऋषिहरुकै वंशज हुनुका नाताले ऋषि पुजन गरिने चलन बसेको होला । तर पनि यस्ता कथामा अनेकन भ्रम पनि विच्छ्याएर महिलालाई बोझ थुपारिएको पाईन्छ । रजश्वला स्वस्थ शरिरको एउटा प्रतिक हो । रजश्वला अर्थात् नामै मासिक धर्म । यो प्रक्रिया नियमित नहुँदो हो त कुनै पनि मानव सृष्टि नै हुने थिएन । ऋतुभिःसृज्यतेजनाः ऋग्वेदको यो मन्त्रले भन्छ सन्तानको उत्पत्ति महिनावारीको चक्रबाट हुन्छ । महान संत दार्शनिक रजनिश ओशोको मान्यता छ कि जुन स्त्री र पुरुष बीचको सहवासका कारण सृष्टि हुन्छ त्यसलाई पापको संज्ञा दिनु मुर्खता हो । ऋषिहरुमा अलौकिक शक्ति र चमत्कार हुन्छ, त्यसैले ऋषि पुजन गर्नु सङ्गति नै होला । भगवानका अवतार मानिने परशुराम क्षेत्री विरोधी थिए, अठार पकट क्षेत्री जति सबैलाई काटेर सिध्याएका थिए रे परशुरामले । तर पनि क्षेत्री कसरी जन्मिइरहे । यी त्रिकालदर्शी, चमत्कारी, अलौकिक मन्त्र सिद्धि भएका ऋषिहरु नहुँदा हुन त क्षेत्री सकिएका हुन्थ्ये । ऋषिहरुमा सृष्टि लिलाको अधिकार नभएता पनि परिआउदा सृष्टिमा सहयोग गर्ने मन्त्र शक्ति वा उपचार शक्ति हुन्छ । रामको जन्म कथाबाट यसमा विश्वास गर्न सकिन्छ । भगवानले मनुस्य शरिर धारण गरेर अवतार लिदा गर्भमा बसेर जन्मलिदैनन् । जसलाई मातृ पितृ स्नेह दिनु थियो जन्मेको नाटक मंचन मात्र गरेर प्रकट भएर लिला संवरण गर्छन् भन्ने सन्तहरुका मान्यता छन् । राजा दशरथका रानीहरुमा सन्तान उत्पादन गर्ने सामर्थ थियो । तर दशरथमा थिएन । यज्ञको प्रसाद फल खाएर भगवान रामचन्द्र, भरत, शत्रुघ्न, लक्ष्मण जन्मिए कि यज्ञ गराउने ऋश्य श्रृङ्गले गुल्मीको रेशुङ्गका जडिवुटिवाट बनाएको ओैषधीले काम गर्यो वा ऋषिले मन्त्रशक्तिको कुनै उपाय गरे त्यो अरुले जान्ने कुरा भएन । भगवानको आफ्नै लिला होला । यस्तै भ्रममा परेर कति धामीझाक्री समक्ष झारफुक गर्न जाने निसन्तान पनि छन् । झारफुक र जडिवुटि खाएर सन्तान भएका पनि छन रे । भगवान र देवताका कार्य कुनै पनि अनुचित छैनन् । स्तुत्य छन् । सानै देखि सुनेका छौ, कथा सुनेर धन्य धन्य भएका छौ । भगवान् बिष्णुले बृन्दाको सत्य डगाएको कथामा महिना दिन ब्रत गरेर धन्य भएकैछौ । आफ्नी भार्या अनि उर्वसी, रम्भा, तिलोत्तमा आदि अप्सराले नपुगेर गौतम ऋषिकी पत्नी अहिल्यालाई झुक्याएर भोग गर्ने स्वर्गका राजा इन्द्रको पुजा र स्वस्ति वाचन गरेकै छौ । स्वर्गका राजा इन्द्र त त्यस्ता व्यभिचारी छन् भन्ने जान्दा जान्दै त्यहि स्वर्गको कामना गरेकै छौ । इन्द्रादि देवताको पुजा गरेर हामी धन्य छौ । कति सङ्गति कति असङगतिमा छौ । इन्द्रले ब्रमघात गरेको पाप ब्रÞमाजीले चार ठाउँमा भाग लगाइ दिएर इन्द्रलाई सफाइ दिए रे । त्यो एक भाग स्त्री रजदोष होरे । जुन पापबाट मुक्त हुन महिलाले ऋषिपञ्चमी ब्रत, पुजा गर्दै आएका छन् । यो कति स·तियुक्त छ होला ? वर्षमा तिनसय पैसठ्ठि दिनमा दिनको एक दत्तिवनले दांत सफा गर्न पनि फुर्सत नपाएका गृहणीलाई एकदिन तिनसय पैसठ्ठि दत्तिवन चपाउन लगाउने चलन अहिलेका टुथपेष्ट र ब्रस प्रयोग गर्नेले पनि अवलम्वन गर्नु सङ्गतिपूर्ण पक्कै होइन ।
हुनेखाने सम्पन्नलाई सधै दशैं छ, हुँदा खानेलाई दशै दशा छ । तिहारमा पनि हुने, भोग्ने त्यस्तै त्यस्तै हो । त्यसैले पर्वका कुरा यहि छोडेर अलिकति धर्मकर्म, मर्मलाई जोडौं । पुण्य कार्य गरे स्वर्ग पाईन्छ, पाप कर्म गरे नर्कमा परिन्छ, पुराण कथामा सुनेको यहि त हो । अलि विद्वान वाचकले बैकुण्ठ र गौलोकका पनि चर्चा गर्छन् । अभाव, दवाव, भेदभावमा रहनु, असाध्य रोग लाग्नु, अज्ञानता, संशय, भ्रममा जीउनु नर्क हो । स्वस्थ शरिर र स्वस्थमन सहित सुविधाजनक जीवन यापन गर्न पाउनु स्वर्ग हो । कुण्ठा रहित भएर जीउनु अर्थात ईष्र्या, डाहा, लालच, निराशा, हतास, अतृप्त भावना रहित जीउनु बैकु्ण्ठ हो । मनलाई उच्चतम सन्तुष्टिमा राखेर जीउनु गोलोक बास हो । लौ यी कुरा होइनन् भन्ने लागेकै छ भने र बिष्णुको लोक बैकुण्ठ लोक, कृष्णको सायुज्ज लोक गोलोक, इन्द्रको लोक स्वर्ग अनि पापिष्ठ लोक नर्क नै सहि । कसैको निधन भएको दुख प्रकट गर्दै मृतात्मालाई उच्च लोकको कामना गर्ने सुझबुझले पनि स्वर्गिय फलनाको बैकुण्ठ, गोलोक बास होस भनेर भन्नु, लेख्नु पनि सङ्गति होइन ।
बैकुण्ठ वा गोलोक मिलोस पनि भन्ने अनि स्वर्गिय पनि भन्नु वेमेल हो । अझ हव्वे न कव्वे भएर नव्वे, सय काटेर निधन भएकालाई पनि असमायिक निधन भन्नु कति सङ्गति होला । आस्था, विश्वास, श्रध्दा, दया, करुणा, पुजा, पाठ, यज्ञ,दान, कर्मधर्म श्रेय हुन । यस्ता कार्यले मानवता अभिबृद्धिमा सहयोग नै हुन्छ । तर यो लोकमा रहदा दिगभ्रमित बनेर परलोक सुद्रिदैन । परमात्मा सबै जीवको आत्मामा छन्। सबैको संमान र अस्तित्व स्वीकार गरौ । आत्मसंमानित भएर जिओैं । त्यसैमा भगवान प्रसंन हुन्छन् । प्रसन्न आत्मासंग परमात्मा पनि प्रसन्न हुन्छन् । आत्मा र परमात्माको सङ्गति नै जीवनको स·ति हो । यहि जन्ममा रमाऔं, यहि देहलाई श्रेष्ठ बनाऔँ । कुण्ठा रहित भावले जीउदै बैकुण्ठमा रमाओैं ।नमरी नपाइने लोकको चिन्ता नगरौं, जीवित रहेको स्वस्थान, अवस्थालाई सायुज्य बनाओैं । कर्मयोगि बनौं । यसैमा कल्याण छ ।