Shittalpati
ऋषिपञ्चमीको व्रत महिमा

भाद्र शुक्ल पञ्चमीको दिनलाई ऋषिपञ्चमी भनिन्छ । यो हिन्दू धर्मावलम्बीहरूका विभिन्न पर्वहरूमध्ये एक महत्वपूर्ण चाड हो । महिला विशेषले विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा यस दिन गर्ने विधान रहेको छ । सप्तर्षिको विशेष पूजा आराधना गरिने पञ्चमी तिथिको दिन भएकाले यस दिनलाई ऋषिपञ्चमी भनिएको हो । शारीरिक एवं आत्मिक रूपमा पवित्र रही आयु आरोग्य र ऐश्वर्यको कामना यस पर्वको मुख्य विशेषता हुन् । यसैगरीे वर्ष दिनसम्म भए गरेका ज्ञात अज्ञात स्पर्श, भक्ष्य, आदि दोषबाट निवृत्त हुन पञ्चमीको स्नान एवं अरुन्धतीसहित सप्तर्षिको पूजा अर्चना गर्ने गरिन्छ ।

यो नारी विशेषको पर्व हो । विशेष गरी रजस्वला हुने नारीहरूले यस दिन विशेष स्नान गरी ज्ञात अज्ञात दोषहरूको प्रायश्चित्त गर्ने शास्त्रीय विधान छ । पञ्चमीका दिन बिहान नदी वा तलाउमा गई पूर्वाभिमुख भएर ३६० अपामार्गले दाँत माझ्नुपर्दछ । यसपछि तीन सय साठी पटक शरीरमा माटो लेपन गरी स्नान गरिन्छ । यसरी स्नान गरेपछि ३६० अपामार्गले जल अभिषेचन गर्नुपर्दछ । स्नान पश्चात् पूजास्थानमा आई पञ्चगव्य प्राशन पूर्वक दीपकलश गणेश स्थापना गरी अरुन्धती सहित कश्यादि सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) को षोडशोचारले पूजा हुने गर्दछ । हुन त आजको समयमा रजश्वला भनेको प्राकृतिक प्रक्रिया हो र यसलाई छुवाछूतसँग तुलना गर्नु पाखण्डपन हो भन्ने आवाज पनि चलिरहेको छ । तर यसलाई नेपाली समाज र हिन्दु धर्मको दर्शनले त्यस्तो मान्दैन । हिन्दु दर्शनले रजश्वला भएको ४/५ दिनसम्म छोइछितो गर्न नहुने बताउँछ । यति नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापकर्म छन्, तिबाट मुक्ति पाउनका लागि यसको व्रत गर्दछन् । तसर्थ यो पर्वको अप्रत्यक्ष रुपमा महिलाहरूको सशक्तीकरण र सबलीकरणमा विशेष महिमा रहेको पाइन्छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update