
पाल्पा, तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । भजनकीर्तन, नेपाली सेनाको ब्यान्ड बाजा, सलामीसहित, टोलविकास संस्था, विद्यालयका विद्यार्थीसमेतको सहभागितामा रथयात्रा गरिएको हो । तानसेनको नारायणस्थान, मखनटोल, पाल्पा दरबार संग्रहालय, शीतलपाटी हुँदै भगवती मन्दिर, वसन्तपुर हुँदै पुनः शीतलपाटीको बाटो भएर टक्सार, लहरेपीपल, ब्यारेक हुँदै नगरपालिका क्षेत्रबाट पुनः अमरनारायण मन्दिरमा रथ लगेर विर्सजन गरिएको छ । रथ यात्रा परम्परागत शैलीमै निकालिएको थियो । प्रत्येक बर्ष भाद्र कृष्ण नवमीको दिन रथयात्रा निकाली बजार परिक्रमा गर्ने परम्परा रहे पनि यस वर्ष दशमीका दिन सुुभसाइत परेकाले सोमबार रथ निकालिएको हो ।
तत्कालीन समयमा सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा जात्रा निकाल्ने प्रचलन रहेको छ । नेपाल एकीकरणको सिलसिलामा सबैभन्दा पछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रूपमा जनरल अमरसिंह थापा आएका थिए । जनरल अमर सिंह थापाले वि.सं. १८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी यो अमर नारायणको मन्दिर निर्माण गराएका थिए । मन्दिरमा भगवान नारायणको मुर्ति राखिएको भएपनि अमर सिंह थापाले आफै बनाएकाले उक्त मन्दिरको नाम नै अमर नारायण मन्दिर राखिएको छ । मन्दिर निर्माण पुरा भएपछी यो मन्दिर बनाउन काठमाडांैका नेवार कालीगढहरु झिकाएका कारण पनि तानसेनमा काठमाडौंमा जस्तै असन, टुँडिखेल, मखन आदि नामहरु राखी सोही अनुसार कला संस्कृती जात्रा सञ्चालन हुँदै आएको छ । पाल्पाको अमरनारायण मन्दिरमा किर्तीपुरको उमामहेश्वरको मन्दिरमा जस्तै पेगोडा शैलीको टुँडालको पुछारमा विभिन्न आसनमा कामक्रिडाका चित्रहरु कुँदिएका छन् । काजी अमर सिंह थापाकै कारण पाल्पाका विभिन्न मन्दिरहरुको रथयात्रा निकाल्ने परम्परा चलेको बुढापाकाहरुको भनाईरहेको छ । गुठीको जग्गा प्रशस्त भएपनि मोहीबाट कति पनि खर्च नआएकाले रथयात्रा सञ्चालन गर्न कठिनाई भएको अमर नारायण मन्दिर गुठि व्यबस्थापन समितिले जनाएको छ । पाल्पामा गाठे मंगलदेखि शुरु भएको जात्राको रौनक भगवती जात्रा र नारायण जात्रासम्म रहने गरेको छ ।