Shittalpati
‘भगवती खटयात्राको तयारी तीव्र पारेका छौं’   

पाल्पा, श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा निकालिने ऐतिहासिक भगवती माताको खटयात्राको तयारीलाई तीव्रता पारिएको बताएका छन् । बुधबार शित्तलपाटी डटकम र युनिक एफएमको भेटवार्ता कार्यक्रममा पत्रकार जगदीश भट्टराईसँगको कुराकानीमा अध्यक्ष महर्जनले    आगामी भदौ १ गते  निकाल्न लागिएको खट यात्राको तयारीलाई तीव्रता  दिइएको बताएका हुन् ।

उनले मूर्ति, मन्दिर सरसफाइ गर्ने देखि जात्रालाई व्यवस्थित बनाउने दिशामा समितिले निरन्तर काम गरिरहेको बताए । अध्यक्ष महर्जनले भने “ हामीले स्थानीय सरकार, जिल्लाका सरोकारवाला निकाय, यहाँ सञ्चालन हुने अन्य जात्राका व्यवस्थापकहरुसँग बसेर जात्रालाई कसरी व्यवस्थित र मर्यादित बनाउन सकिन्छ भनेर सल्लाह लिने र सोही अनुसार काम गर्ने गरेका छौं ।”

यस वर्ष २०६ औँ भगवती खट यात्रा निकालिने उनले बताए । दुई सय वर्षअघिदेखि भगवतीको रथयात्रा गर्ने प्रचलन कायम राख्दै यो वर्ष पनि आगामी भदौ १ गते रथयात्रा गर्ने तयारी भएको अध्यक्ष महर्जनले बताए । उनले भने, “ऐतिहासिक भगवतीको रथयात्राले भगवतीको महिमाको प्रचार–प्रसार र धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास लिएका छौँ । नेपाली सेनाले विजय हासिल गरेको दिनको विशेष सम्झना यसले दिलाउँछ ।” तत्कालीन नेपाली सेनाको पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्धमा जितेमा तीनतले मन्दिर बनाई भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवस्वरुप भगवती जात्रा मनाउन थालेका हुन् । जुन परम्परा आजसम्म चल्दै आएको समितिका अध्यक्ष महर्जनले जानकारी दिए ।

पूजा तान्त्रिक विधिद्वारा मूलपुरोहितद्वारा ठिक १२ बजेको बली सहितको पूजा, बढाई आतिसबाजी, भगवतीको प्रतिमूर्ति रथमा राखिने समितिका सदस्य सचिव प्रकाशनाथ गंगोलले बताए । उनका अनुसार १२ः३० बजे मन्दिर परिसरबाट खटयात्रा ३ तीन पटक मन्दिर घुमाउने र कर्णेल पूजा गरिसकेपछि नगरपरिक्रमा गराईने छ । यसवर्ष कार्यक्रममा सहभागी हुन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे सहित उच्च पदस्थ व्यक्तिहरु आउने निश्चित भएको सचिव गंगोलले बताए ।

मूर्ति सहितको खट उठिसकेपछि भगवती मन्दिर परिसरलाई तीन पटक परिक्रमा सहित कर्णेल पुजा एवं बली दिइ खट यात्रा मन्दिर परिसरबाट पूर्व तर्फको मूलढोका हुदै (निशान मन्दिर) शित्तलपाटीबाट सडक ,हुलाक हुँदै गणेश मन्दिरमा परिक्रमा गरि दरवार हुँदै शित्तलपाटी भगवती टोल, बसन्तपुर चोक हुँदै कैलाशनगर चोकसम्म पुर्‍याइने उनले बताए ।  त्यहाँबाट सेन्ट क्यापिटानियो हुँदै शित्तलपाटी, अशनटोल, नारायण स्थान चोक पुर्‍याईने छ । त्यहाँ रथ तीन पटक परिक्रमा गरि भिमसेनटोल हुँदै नगरपालिकाबाट नेपाली सेना क्याम्प हुँदै बसपार्क आन्दोलन चोक, बडिज्ञान टोल ,हुलाक चोक, शिल्खनटोल, गौरी शंकर गेष्ठ हाउस, टक्सार हनुमान मन्दिर, गणेश मन्दिर, निशानधारा शित्तलपाटीको भिमसेन मन्दिर हुँदै मुल गेट प्रवेश गरि निशान मन्दिर हुँदै भगवती मन्दिरमा प्रवेश गरि विसर्जन हुने सचिव गंगोलले बताए  ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update