Shittalpati
गुल्मीमा बाढीको वितण्डा  :  डहरे खोलाले कार बगायो

गुल्मी, गुल्मीमा बाढीले बितण्डा मच्चाएको छ । निरन्तरको अविरल वर्षासँगै आएको बाढीले एउटा कार समेत बगाएको छ । जिल्लाको सत्यवती गाउँपालिका –६ उर्लीखोला स्थित डहरेखोलाले बीएए ००१७ नम्बरको कार बगाएको हो ।

मंगलबार बिहान पौने १२ बजेको समयमा शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको कारलाई डहरे खोलामा एक्कासी बढेको पानीको बहावले बगाएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार कार बगाएर ५० मिटर तल पुर्‍याएको थियो । स्थानीय र ट्याक्टरको सहायताले अहिले कार खोलाबाट बाहिर निकालिएको छ । कार पत्रकार  घनश्याम गौतमको रहेको बुझिएको छ । उनी गुल्मी घरबाट बुटवल जाँदै गर्दा खोलाले बगाएको हो । गौतम भने सकुसल रहेका छन् । उनले चलाएको डहरे खोलाको बीच भागमा पुगेपछि रोकिएको थियो । 

खोलाले बगाउँदा कारमा क्षति पुगे पनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ पक्की पुलको अभावले यस क्षेत्रका नागरिकले वषौंदेखि सास्ती खेप्दै आएका छन् । वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुटने सावरीसाधनहरू वर्षातको समयमा खोला बढ्दा बाटोमै घण्टौं कुरेर यात्रा गर्नुपर्ने बाध्यता छ । सडक सुचारु भएको वषौं बित्दा समेत डहरे खोलामा पुल निर्माण नहुँदा खोला तर्ने क्रममा सवारीसाधनहरू बगाउने समेत गरेको छ । यहाँ पुल निर्माणका लागि बजेट अभाव हुँदा गुल्मी क्षेत्र नम्वर १ का संघीय सांसद डा. चन्द्र भण्डारीले  सरकार र सदनमा  समेत पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् ।

आइतबारदेखि परेको अविरल वर्षाले  डहरे खोलामा पानीको बहाव बढेकोले सडक समेत अवरुद्ध हुँदै आएको छ । अझै पानी परीराखे बाढी तल्लो बस्तीमा पस्ने जोखिम समेत देखिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update