
पाल्पा, पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्र आसपसका तीन स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध बनेको हो ।
आइतबादेखि परेको अविरल वर्षाका कारण गएको ढुङ्गासहितकको पहिरोले सोमबार साँझ ६ बजेदेखि सडक पूर्णरुपमा अवरुद्ध रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले बताए । उनका अनुसार तिनाउ गाउँपालिका–३ दोभान प्रहरीचौकी नजिकै क्षेत्र र त्यस नजिकैका ठाउँमा ठूला साना पहिरो खसेका छन् । निरन्तर पानी परिहेकाले सडक पन्छाउन नसकिएको प्रमुख आचार्यले बताए । उनले भने “ पानी परिरहेको छ, माथिबाट ढुङ्गासहितको पहिरो झर्न रोकिएको छैन,यस्तो अवस्थामा डोजर लगाए काम गर्ने अवस्था छैनन् । डोजर तयारी अवस्थामा राखिएको छ । पानी रोकिन साथ पहिरो फाल्ने काम हुन्छ ।”
सोमबार दिनभर बेला–बेलामा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरे पनि साझाँ तिरबाट पुनः निरन्तर वर्षा भइरहेकाले पहिरो खस्न पुगेको थियो । पानी रोकिनासाथ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले डोजर लगाएर सडक खुलाउने गर्छ । तर पुनः पानी पर्नासाथ राजमार्गको माथिल्लो भेगबाट ढुंगा खसेपछि सवारी साधन रोकिने ट्राफिक कार्यालयले जनाएको छ ।
यात्रुलाई जोखिमका बेला यात्रा गर्न नदिएको दोभान प्रहरी चौकीले जनाएको छ । पानी परेर सिद्धबाबा खण्डमा पहिरो खस्ने, ढुङ्गा खस्ने भएपछि प्रहरी चौकी दोभान, प्रभास, बर्तुङले सवारी साधन रोक्ने गरेका छन् । अहिले राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प छन् । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् । यस्तै पहिरोले तानसेन नगरपालिका –८ गौडेपुल, माथागढी गाउँपालिका –१ बुढीकोटस्थित आर्यभञ्ज्याङ्–रामपुर, रैनादेवी छहरा गाउँपालिका–८ जुठास्थित जुठापौवा– सालझण्डी खण्डका सडक पनि पूर्णरुपमा अवरुद्ध भएका छन् ।