Shittalpati
गथांमुगः र घण्टाकर्ण

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आजको दिन तानसेनको शितलपाटी, बसपार्क तथा नारायणटोलमा घण्टाकर्ण राखिएका छन् । आज यो बर्षको श्रावण कृष्ण चतुदर्शी । नेवारी संस्कृतिमा आजको दिन जीवनमा आउने बाय तथा आन्तरिक बाधाहरु एवं शत्रुबाट रक्षाको साथै आर्थिक र भौतिक उन्नति, घर–घरमा भएका दुषित बायुलाई धपाउन तथा घर परिवारका सदस्यहरुको ग्रह दशा कटाउन यो घण्टाकर्ण पर्व मनाइएको पाइन्छ । विभिन्न नामले आजको दिनलाई सम्बोधन गरिन्छ घण्टाकर्ण, गथांमुग, गथेमंगल आदि आदि । पहिला पहिला नेवारी समुदायमा घर परिवारका कोही सदस्य विरामी भएर उपचार गराउनु भन्दा कोही पनि विरामी नहोस् भनेर विभिन्न उपायहरु गर्दै आएको देखिन्छ । त्यही सन्दर्भमा गथांमुग पनि एक प्रक्रिया हो । समुदायलाई सुरक्षित राख्नु पर्छ भन्ने उद्देश्यले नै यो चाड मनाइएको भन्ने पनि गरिन्छ । यस दिन उपत्यका तथा उपत्यका बाहिर नेवार बस्ती भएका ठाउँहरुका टोल–टोलमा दोबाटो चौबाटोहरुमा नर्कट, छवाली तथा बाँस वा तितेपाटी घाँसका मुठाहरु पारी राक्षस जस्तो आकार भएको पुत्ला बनाई मुखमा डरलाग्दो भयानक राक्षसको जस्तो चित्र टाँसेर घण्टाकर्ण बनाएर दिनभरि राखिन्छ ।

बच्चाहरु वा ठूलाले बाटो हिड्ने बटुवाहरुसँग जगाती (कर) माग्दछन् र साँझपख घरघरबाट पनि जगाती (कर) उठाई तान्त्रिक विधिद्धारा पूजा गरि यसलाई मुखमा आगो बालि तानेर खोलामा लगेर मिल्क्याइन्छ । राक्षसले पनि त्यसै गरी जगाती माग्थ्यो भनेर त्यही सम्झनामा अहिले पनि जगाती मागिएको भनिन्छ । आफ्ना घर परिवार सदस्यहरु भूतप्रेत आदि दुष्ट आत्माबाट सुरक्षित हौन, कुनै बाधा अड्चन नहोस् सधैं सुरक्षित भैरहोस्  तथा राक्षस वा भूतप्रेत आदि शान्त भैरहोस् भनेर पनि जगात दिने चलन रहेको मानिन्छ । यस सन्दर्भमा विभिन्न किंबदन्तिहरु रहेका छन् । देवताको नाम नै सुन्न नचाहने एक भयानक राक्षस आफ्नो कानमा ठूला ठूला घण्टा लगाएर हिड्थ्यो, त्यो राक्षस अति अत्याचारी थियो । दोवाटोमा बसेर बाटो हिड्ने बटुवाहरुसँग खानेकुरा मागेर खान्थ्यो नदिएमा त्यो मानिसलाई नै खाइ दिन्थ्यो । उनको डरले मानिसहरु घरबाट बाहिर निस्कन डराउँथे । यस्तो स्थिति देखेर त्यहाँका मानिसहरु एक जना तान्त्रिकसँग सल्लाह लिन पुगे । सबैको कुरा सुनिसके पछि तान्त्रिकले उनीहरुलाई त्यो राक्षसबाट बचाउने उपाय निकाले । आफ्नो तान्त्रिक विद्या अनुसार सो तान्त्रिकले आफुलाई भ्यागुताको रुपधारण गरेर राक्षसको मा गए । भ्यागुतालाई देखेर त्यो राक्षसले मानव बस्ती कहाँ छ भनेर सोधे । भ्यागुताले पनि मानव बस्ती देखाइ दिन्छु भनेर राक्षसलाई खेतको हिलोको दलदल भएको तिर लिएर गए । राक्षस त्यही दलदलमा मा गाडिय र त्यहाँबाट निस्कन सकेन् । त्यो राक्षस रातभरी कराएर बस्यो  । भोलिपल्ट बिहान गाउँलेहरुले राक्षस हिलोको दलदलमा गाडिएको देखेर ढुँगा मुढा गरी त्यो राक्षसलाई त्यही मारि दियो र सबै गाउँलेहरु राक्षसको डरबाट मुक्त भए । यही दिनलाई सम्झेर नेवारी समाजमा यो गथांमुग पर्व मनाइएको भनिन्छ । भ्यागुताको सहयोगमा त्यो दुष्ट राक्षसलाई मार्न सफल भएको र मानव कल्याणकारी काम प्रति कृतज्ञ भएर गथांमुग पर्वको दिन  (ब्याँ चा जा नकेगु ) भ्यागुतालाई भात खुवाउने परम्परा अद्यापि उपत्यकामा रहेको छ । पहिले काठमांडौ उपत्यकामा जताततै प्रशस्त मात्रामा उव्जाउ जमिन थिए र उव्जाउ पनि प्रशस्त नै हुन्थे । जनसंख्या कम थियो । आदिवासी स्थानीय बासिन्दाहरु बर्ष दिनको लागि खेतिपातीमा व्यस्त हुन्थे । उनीहरु बर्षाको बेला रोपाइँको समयमा घाम पानी हिलो केही नभनी मरीमरी खेतिपातीको काम गर्थे किनकी यसरी मरीमरी काम गरेर बर्ष दिनको लागि अन्नको जोहो गर्नुपथ्र्यो । कुनै कारणवश खेतिपाती राम्रो भएन वा विग्रिएमा अन्नको संकट पर्दथ्यो । त्यसैले बढी मिहेनत गर्नुृ पर्दथ्यो । जसरी भए पनि काम सिध्याउनुपथ्र्यो । तर काम सजिलो हुँदैन थियो । डल्ला फोर्नु, माटो सम्याउनु, कुलो लगाउनु, धान रोप्नु आदि आदि सबै गर्नुपथ्र्यो । फेरि उपत्यकामा गोरुको प्रयोग गरिदैन । गोरुलाई भगवान पशुपतिनाथको बाहन भएकाले गोरु जोत्न हुँदैन भन्ने मान्यता अद्यापि काठमाडौं उपत्यकामा छ । त्यसैले जम्मै काम हातैले गर्नुपथ्र्यो । यदि यस्तो खेतिपातीको बेला कोही मरे भने पनि आफ्नो काम नसिद्धिएसम्म त्यस लासलाई सुकुलमा बेरेर राख्थे रे र रोपाइँको काम सकिएपछि मात्र शतगति गर्न लैजाने र काज क्रिया गर्दथे रे । नेवारी भाषामा यसरी मरिमरि काम गर्नेलाई सिन्हा ज्या भनिन्छ । यस्तो काम केवल बलिया मान्छेहरुले मात्र गर्न सक्थ्यो तर सबै मानिसहरु बलिया हुँदैन थिए । यस्तो गारो काम गर्न तान्त्रिकले भूतको साधना गरी कुनै मानिसमा भूत चढाउनु पर्दथ्यो र त्यो भूत चढेको मान्छले मात्र यी सबै काम गरि दिन्थ्यो । यसरी सिन्हा ज्या अक्षय तृतीया भन्दा एक दिन अगाडि भूतलाई आÞवान गर्नु पर्दथ्यो र भूतलाई भित्र्याउने काम गरिन्थ्यो । भूतले सबै काम गरि दिन्थ्यो र काम सकिएपछि घरको एक कुनामा सुरक्षित राखिन्थ्यो र श्रावण कृष्ण चतुदर्शी अर्थात् घण्टाकर्णको दिन तान्त्रिक विधिबाट उनीहरुलाई पुजा गरी उनीहरुले गरेको सहयोग प्रति कृतज्ञ बन्दै  खोलासम्म लगि विसर्जन गर्ने गरिन्थ्यो भन्ने लोक विश्वास पनि उपत्यकामा रहेको छ ।  घण्टाकर्णलाई ढोग्ने चलन पनि रहेको छ । वास्तवमा राक्षसलाई ढोग्न नपर्ने हो तर त्यसलाई एउटा शक्ति मानेर वा रोपाइँमा सहयोग गरेको कारण भूतप्रेत प्रति कृतज्ञ बन्दै ढोग्न थालेको अनुमान गरिन्छ । यस दिन भूतहरु यताउता जहाँ पनि भेट हुन सक्ने भनि सबैले अनिवार्यरुपमा फलामको औंठी लगाउनुपथ्र्यो । फलामको औंठी लगायो भने भूतले दुःख दिदैन भनिन्थ्यो । त्यस्तै गरी बेलुकी पख भूत फर्केर आउला भनेर आफ्नो घरको मूल ढोकामा तिन खुट्टे फलामको किल्ला ठोकिन्थ्यो । दुष्टात्माहरु भगाउने भनेर यसो गरिएको भनिन्छ । यो चाडको मुख्य विशेषता भनेको घर–घरबाट भूत, प्रेत, पिशाच तथा दुष्टात्माहरु धपाउनु हो । हुनत आजभोलि जताततै सिमेन्टका पक्की घर बन्न थालेपछि ढोकामा किला ठोकने चलन हराई सक्यो भने पनि हुन्छ । नेवारी परम्परा अनुसार सिथिनखको दिन सो वर्षभरिका चाडपर्वहरु समाप्त हुन्छ र गथांमुग पर्वका दिन सो वर्षको नयाँ चाडपर्व शुरु भएको मानिन्छ । काठमाडौं उपत्यकामा घण्टाकर्णको दिनलाई आफ्नो खेतको काम रोपाई सकिएको तथा शरद ऋतुको शुरुवात भएको भनि मनाइन्छ । साथै हिन्दु तथा बौद्ध धर्मावलम्बिहरुको अरु चाडहरु प्रारम्भ भएको भनिन्छ । यो प्रचलन लिच्छिवीकालदेखि नै भएको पनि मानिन्छ ।

सांस्कृतिक हिसाबले तानसेनलाई काठमांडौ पछिको नेवारहरुको सांस्कृतिक गतिविधि भरिएको ठूलो शहरको रुपमा मान्ने गरिन्थ्यो । किनकी तानसेन पहिला नेवार बस्ती नै थियो र संस्कृतिले धनी थियो तर विभिन्न कालखण्डको क्रममा यहाँका नेवारहरु वैकल्पिक कामको खोजीमा तानसेनबाट पलायन हुँदै गए फलस्वरुप तानसेनबाट पुराना मौलिक संस्कृतिहरु पनि विस्तारै लोप हुँदै गए । अहिले ती पुराना संस्कृतिहरुका केही अवशेषहरु मात्र बाँकी छन् ती पनि मौलिकता नभएको । अग्रजहरुको निधन, युवा पुस्तामा संस्कृतिको पुस्तान्तरण हुन नसकेको र संस्कृतिप्रति  मोह कम भएको, स्थानीय सरकारको उदासीनता, आर्थिक समस्याका कारण पनि संस्कृति लोप हुँदै गएका कारण हुन भन्नेमा अत्यक्ति नहोला । श्रावण कृष्ण चतुर्दशी आजको दिन तानसेन बजारमा पहिला पहिला टोल टोलमा अग्ला अग्ला घण्टाकर्ण बनाएर चोक चोकमा राख्ने गरिन्थ्यो तर आज भोलि नाम मात्रको गथांमुग घण्टाकर्ण बनाइन्छ । आफनो घर परिवारका सदस्यहरुको ग्रह दशा कटेर जाओस् भनेर बर्षको एकदिन भए पनि घण्टाकर्ण बनाई त्यसलाई जौ, तिल, बेसार, नुन, कालो कपडा, दक्षिणा आदि राखि पूजा गर्ने गरिन्छ । बच्चाहरु सो बाटोबाट हिड्नेहरुलाई घण्टाकर्णलाई भेटी चढाउनु पर्यो भनेर डोरी टांगेर बाटो छेकेर बस्थे ,दिएन भने घण्टाकर्णको नाती आयो भनेर घण्टाकर्णलाई ढोग्न लगाउँथे । हुनत यो डोरीले छेक्ने चलन अहिले छैन स्वेच्छाले घण्टाकर्णको पुत्लामा दक्षिणा चढाउने चलन छ । दिनभरी घण्टाकर्णलाई राखेर साँझपख यसमा आगो लगाएर ढलाएर लतार्देै टोलबासीहरु ढोलक, झ्याली बजाउँदै हल्ला गर्दे घण्टाकर्णको पछि लाग्दै जान्छन् र खोल्सामा लगेर फालि दिन्छन् । पहिला पहिला यसरी घण्टाकर्णलाई लग्दै गर्दा बाटोमा अर्को टोलको घण्टाकर्ण भेटियो भने घमासान झगडा हुन्थ्यो रे । घण्टाकर्ण राक्षस भएकोले शायद ति मानिसहरुमा पनि त्यसबेला राक्षसी प्रवृति हावि हुन्थ्यो क्यारे । आज यो परम्परा खुम्चिदै गईसकेछ मुश्किलले एक दुई टोलमा मात्र घण्टाकर्ण बनाएर राख्ने गरिन्छ । यसरी तानसेनको पारम्परिक संस्कृति लोप हुँदे गइरहेको संरक्षण तिर कसैको पहल नदेखिएकाले वि सं. २०७० साल देखि नै देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान आफैले नियमित रुपमा घण्टाकर्ण बनाएर अद्यापि शितलपाटीमा राख्ने गरेको छ । यसका साथै विगतका वर्षहरुमा प्रतिष्ठानले अन्य टोलहरुलाई पनि तानसेनको मौलिक संस्कृतिप्रति जागरुक गराउन कुनै वर्ष घण्टाकर्ण बनाउने प्रतियोेगिता सञ्चालन पनि गरेको थियो भने कुनै वर्ष घण्टाकर्ण बनाएर राख्नेहरुलाई आर्थिक सहयोग पनि गर्दै आएको थियो । यो त देउराली प्रतिष्ठानको प्रयास मात्र थियो लोप हुँदै गएको संस्कृति बचाउने ।

घण्टाकर्णको दिनदेखि तानसेनमा लाखे नाच निकालने चलन पनि रहेको छ । भयंकर ख्वापा भएको मकुण्डो लगाएको, शरिरमा चोलो घाँघर हातमा रंगीन कपडाको टुक्रा, घण्टको माला लगाएको लाखे विभिन्न बाजाको तालमा महिना दिनसम्म तानसेन बजारमा नाच्ने गर्दछन् । लाखेलाई घण्टाकर्णको प्रतिक मानिन्छ भने भ्यागुतालाई तीनपाकु अर्थात् ख्यालिण्चाको प्रतीक बनाएर लाखेसँगै नचाउने चलन पनि रहेको छ । जन्माष्टमीको मध्य रातमा श्री रणउजीरेश्वरी भागवती माताको मन्दिर प्रांगणमा घण्टाकर्णको प्रतिकको रुपमा राँगोलाई राक्षसको ख्वापा लगाई दिई मारिन्छ र लाखे समाप्त भएको मान्दछन् । कसैकसैले लाखेलाई घण्टाकर्णको दीदी मान्दछन् र घण्टाकर्ण मारिएपछि उनलाई खोज्न लाखे देखा परेको पनि भन्दछन् । गथामुग, घण्टाकर्ण हाम्रो संस्कृतिहो तर हाम्रो संस्कृति अहिले विस्तारै लोप हुँदैछन् । तानसेनबाट नेवारहरुको पलायन हुनु तथा अन्य जातीहरुको बाहुल्यता हुुनुको कारण पनि नेवारी संस्कृति ओझलमा पर्दै गईरहेका छन् भने पनि हुन्छ । अब पनि संस्कृतिको संरक्षण नगर्ने हो भने र यस्को उत्थानको लागि सबै तिरबाट पहल नहुने हो भने पछि गएर तानसेनको संस्कृति एकादेशको कथा हुन के बेर ।  अस्तु ।
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।)

 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update