
पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, दाङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
रूपन्देहीको गैडहवा गाउँपालिका–८ सितलडाँडास्थित सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । लु.६१ प ७२३८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका–१ सन्धिखर्क घर भएकी ६८ वर्षीया कुमारी कुँवरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै दाङको लमही नगरपालिका–५ सुनखोलीमा बोलेरो पिकअपले किचेर एक जनाको मृत्यु भएको छ । लु.३ च ४८१४ नम्बरको बोलेरो पिकअपले किचेर सोही ठाउँ बस्ने २१ वर्षीय राकेश कुमार बानियाँको आइतबार बिहान मृत्यु भएको हो । आफ्नै घर अगाडि पार्किङ गरी राखेको बोलेरोको पछाडीको टायरमा ओत लगाएको ढुङ्गा निकाल्ने क्रममा बोलेरो ब्याक भई किच्दा गम्भीर घाइते भएका राकेशको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस्तै सुनसरीको इनरूवा नगरपालिका–७ बर्छुवा चोकस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बर्छुवा चोकबाट मुसहरी टोलतर्फ जाँदै गरेको को.३४ प ५१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय पारस यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।