
नेपालको विशेषता भनेकै यहाँका चाडपर्व हुन् । धार्मिक, सांस्कृतिक, जातीय र जैविक विविधताले नेपाल धनी मुलुक हो । यिनै चाडपर्वमध्ये साउने अर्थात् कर्कट सङ्क्रान्तिको आफ्नै महत्व छ । साउने सङ्क्रान्ति वैदिक सनातन धर्मावलम्बीका लागि विशेष दिन हो । यो दिनलाई उत्सवकै रूपमा मनाइन्छ, परम्परागत रूपमा चलिआएका विधि पूरा गरिन्छ । धार्मिक मान्यता र गणितीय हिसाबबाट तिथि, बार, महिना, मसान्त, सङ्क्रान्ति, औँसी, पूर्णिमालगायत जीवनशैलीमा महत्व राख्ने चाडपर्वकै निरन्तरता हो साउने सङ्क्रान्ति ।
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति भनिन्छ । प्रायः सबैले यसलाई साउने संक्रान्ति पनि भन्दछन् । यस दिनले धान रोप्ने समयको समाप्तिलाई जनाउँछ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको धार्मिक महत्व रहेको बताइन्छ । साउने संक्रान्तिका दिन बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । लौकिक चलनअनुसार यसदिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ । निबुवा, अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । बेलुका लुतोफाली धार्मिक महत्वको साथ संक्रान्ति मनाइन्छ ।
साउन लागे लगत्तै हिन्दू महिलाहरुमा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहल पहल देखिन्छ । पछिल्ला वर्षहरुमा साना बालिका र किशोरीहरु समेत मेहन्दी र रातो वस्त्र लगाएर साउने व्रत बस्ने गरेका छन् । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनका रुपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएकाले साउनका सबै दिनलाई उत्तिकै महत्वको रुपमा लिइन्छ । साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले साउने सङ्क्रान्तिलाई विशेष महिमाको रुपमा लिइन्छ ।