Shittalpati
आजबाट दुई सिफ्टमा खुले कार्यालय

पाल्पा । आजदेखि कार्यालय दुई सिफ्टमा सञ्चालन भएका छन् । मन्त्रिपरिषद्को गत जेठ २८ गतेको निर्णयअनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टका लागि कार्यालय सञ्चालन भएका हुन् । बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड­-१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्था, सहकारी तथा बीमा सेवा सोमबारबाट दुई सिफ्टसञ्चालन गर्ने निर्णय गरेको थियो । यसरी सञ्चालन हुने कार्यालयमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले पनि आजदेखि दुई सिफ्टमा सेवा प्रवाह गरेको छ ।प्रशासनले बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र दिउँशो १ बजेदेखि बेलुकी ६ बजेसम्म दोस्रो सिफ्टमा सेवा दिइरहेको छ । प्रशासनले सूचना सार्वजनिक गर्दै फरक –फरक ठाउँका सेवाग्राहीहरुलाई फरक फरक समयमा सेवा प्रवाह गर्ने जनाएको छ । प्रशासनले आइतबार तानसेन नगरपालिकाका सेवाग्राहीको मात्र काम गर्ने भएको छ । यस्तै हरेक हप्ताको सोमबार बगनासकाली र रैनादेवी छहरा गाउँपालिका भित्रका सेवाग्रहीको र मंगलबार माथागढी र रम्भा गाउँपालिकाभित्रका सेवाग्राहीलाई सेवा दिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै बुधबार तिनाउ र पूर्वखोला गाउँपालिकाका सेवाग्राहीको काम गर्ने जनाइएको छ, भने बिहीबार रिब्दीकोट र निस्दी गाउँपालिका वडा नं. ७ का सेवाग्राहीलाइ्र्र सेवा दिने जनाएको छ । प्रशासनले बिहान ८ बजेदेखि निश्चिन दुरी कायम राखेर सेवाग्रहीले पालना गर्नुपर्ने शर्त पालना गरेपछि मात्र सेवा दिने जनाएको छ । कार्यालय खुलेसँगै पाल्पामा मानिसहरुको चहलपलह बढेको छ ।

यस्तै मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनसमेत सञ्चालन हुन पाउने छ । सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ । सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।

बन्दाबन्दीलाई खुकुलो बनाए पनि तत्कालका लागि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने क्षेत्र सञ्चालन हुने छैनन् । ती क्षेत्रहरु पठनपाठन, अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालिम, सेमिनार, सभा, गोष्ठी र भेला सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा ब्यूटीपार्लर, स्विमिङ्पुल, सपिङ मल, समूहमा खेलिने खुलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुवाहक सवारीसाधान रहेका छन् ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update